खोटाङमा गाँजाको पाँच सय बढी बोट प्रहरीले नष्ट गरे

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  ५ : २३


खोटाङ। इलाका प्रहरी कार्यालय महादेवस्थान हलेसीले गाँजाको पाँच सयभन्दा बढी बोट फाँडेर नष्ट गरेको छ।

प्रहरी निरीक्षक प्रमोद कार्कीको नेतृत्वमा खटिएको प्रहरीको गस्ती टोलीले हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमको राबुमा करिब दुई रोपनी जग्गामा रहेको गाँजा फडानी गरेको हो।

राबुमा फरक–फरक ठाउँमा आफै उम्रिएको गाँजा फाँडेर नष्ट गरिएको प्रहरी निरीक्षक कार्कीले बताए।

सामाजिक अपराधलाई निस्तेज पार्न लागुऔषध कारोबार रोकथाम र अपराध नियन्त्रणका लागि शुक्रबार साना तथा ठूला गाँजा नष्ट गरिएको प्रहरीले जनाएको छ।

यद्यपि बारीमा रहेको गाँजा व्यवसायीक रुपमा लगाएको नभई आफैं उम्रिएको बुझिएको प्रहरी निरीक्षक कार्कीले बताए।

जिल्ला प्रहरी कार्यालयले केही वर्षयता जिल्लामा गाँजा फँडानी अभियानलाई जारी राखेको छ।

विगतका वर्ष हलेसी तुवाचुङ नगरपालिकाको हलेसी, दुर्छिम, डिकुवा, बडहरे, बाहुनीडाँडा, मंगलटार, च्यास्मीटार लगायतका ठाउँमा गाँजा खेती लगाउने गरिएकामा प्रहरीले नष्ट पार्न थालेपछि पछिल्लो समय गाँजा खेतीमा केही कमी आएको छ।

घरैबाट बिक्री हुने तथा ठेकेदारले ५० हजारदेखि एक लाखसम्म अग्रिम पेश्की दिने गरेकाले किसानले अवैध गाँजाको खेतीमा जोखिम मोल्ने गरेका छन्।

उदयपुरबाट आउने ठेकेदारले अग्रिम भुक्तानी दिएर किसानलाई गाँजाको खेतीतर्फ प्रोत्साहित गरेको बताइएको छ। सुक्खाग्रस्त क्षेत्रमा पर्ने र अन्यबाली कम उव्जाउ हुने सो क्षेत्रका किसानले व्यवसायीक रुपमा गाँजा खेती गर्ने गरेका छन्।


प्रतिक्रिया दिनुहोस्