पूर्वसभामुख महराको थुनछेक बहस आज, के होला आदेश ?

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  १ : ०६


काठमाडौं । जिल्ला अदालत काठमाण्डौंमा आज  जबरजस्ती करणी उद्योगको मुद्दामा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराको थुनछेक बहस हुँदैछ । 

बिहीबार ढिला गरी महराविरुद्ध अभियोग दर्ता भएकाले बिहीबार बयान लिन नसकिएकले शुक्रबार बयान लिइएको थियो। महराविरुद्ध सरकारी वकिल कार्यालयले बिहीबार बलात्कार प्रयासमा ५ वर्ष र विशिष्ट व्यक्ति भएकाले थप दुई वर्ष गरी सात वर्ष कैद सजाय माग गर्दै मुद्दा दायर गरेको थियो । 

महराको बयान सकिएको र अब थुनछेक बहसका लागि आइतबार अदालतमा उपस्थित गराउने अनुमति दिइएको अदालतका फैसला कार्यान्वयन अधिकृत सञ्जीव पोखरेलले जानकारी दिनुभयो । 

शुक्रबार जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको बन्द इजलासमा महराको अदालती बयान गराइएको थियो ।

महराले आफू रोशनी शाहीको कोठानजिकै गएको स्वीकार गरेका छन । 

तर उनले आफू शाहीको कोठाभित्र नपसेको र पीडितलाई पनि नभेटेको दाबी गरेका छन् । 

थुनछेक आदेशले मुद्दाको किनारा नलागुन्जेल आरोपितलाई थुनामा राख्ने, धरौटी वा साधारण तारेखमा छाड्ने भन्ने विकल्पमध्ये एउटा आदेश दिनेछ । जाहेरीदेखि बयान र प्रमाणको विश्लेषण गरी इजलासले आदेश दिनेछ ।

३ वर्षभन्दा बढी कैद मागदाबी गरिएको मुद्दामा अदालतले पुर्पक्ष थुनामा राख्ने आदेश दिन सक्छ । 

तर आरोपितविरुद्धको प्रमाण गम्भीर नभएमा अदालतले धरौटी वा साधारण तारेखमा समेत छाड्ने आदेश दिन सक्छ ।

निरन्तर सुनुवाइको निवेदन परेकाले थुनछेक आदेशलगत्तै मुद्दाको सुनुवाइसमेत हुन सक्नेछ । 

संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीले आफूलाई महराले जबरजस्ती करणी गरेको भन्दै दिएको उजुरीका आधारमा प्रहरीले गएको असोज १९ गते महरालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको थियो । 


प्रतिक्रिया दिनुहोस्