कास्की २ मा होला त यी तीन महिला उम्मेदवारको भिडन्त ?

प्रकाशित मिति : १६ कार्तिक २०७६, शनिबार  ४ : १८


काठमाडौं । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि कास्की निर्वाचन क्षेत्र नं. २ मा तीन प्रभावशाली महिला उम्मेदवारबीच भिडन्त हुने भएको छ । यी ३ महिलाहरुमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट विद्या भट्टराई, प्रमुख विपक्षी दल नेपाली कांग्रेसबाट पत्रकार विमला भण्डारी र साझा पार्टीबाट रजनी केसीबीच कडा प्रतिष्पर्धा हुने भएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले कास्की प्रतिनिधिसभा क्षेत्र नम्बर २ को उम्मेदवारमा विद्या भट्टराईको नाम टुंगो लगाइसकेको छ । नेकपाको गण्डकी प्रदेशले स्व. नेता रविन्द्र अधिकारीकी पत्नी विद्या भट्टराईसहित ३ जनाको नाम सिफारिस गरेर केन्द्रमा पठाएकोमा शनिबार बसेको नेकपा सचिवालय बैठकले विद्यालाई नै टिकट टिने निर्णय गरेको हो । पर्यटन मन्त्री रविन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा परी मृत्यु भएपछि उक्त स्थानमा उपनिर्वाचन हुन थालेको हो ।

यता साझा पार्टीले पनि आफ्नो केन्द्रीय सदस्य रजनी केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । कार्तिक ५ र ६ गते पोखरामा सम्पन्न केन्द्रीय समिति बैठकले केसीलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । रजनी कांग्रेसबाट केही समयअघि मात्र साझा पार्टीमा प्रवेश गरेकी थिइन् ।

त्यस्तै, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबाट पनि पत्रकार विमला भण्डारीको चर्चा चलेको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट स्व.रविन्द्र अधिकारीकी धर्मपत्नी विद्या भट्टराईको नाम टुंगो लगाइरहँदा कांग्रेसले भण्डारीको नाम सिफारिस गरेको हो । कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघबाट २०५३ देखि राजनीतिक यात्रा शुरु गरेकी भण्डारीले कांग्रेसका विभिन्न भातृ संगठनहरुको नेतृत्व गरिरहेकी छन् ।

पोखराको पृथ्वीनारायण क्याम्पसमा २०५८ देखि नेविसंघको राजनीतिमा क्रियाशील रहेकी उनले २०६२ को स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेविसंघको नेतृत्व गर्दै होमिएकी थिइन् । नेविसंघको प्यानलमा सर्वाधिक मत प्राप्त गरेकी भण्डारी अहिले कास्की कांग्रेसमा सक्रिय छिन् । पोखरा १७ की भण्डारीलाई वडादेखि जिल्लाको राजनीतिमा लामो समयदेखि सक्रिय भएकाले पार्टीले उच्च मूल्याङ्कन गर्दै उम्मेदवारको लागि सिफारिस गरेको हो ।

सिफारिसमा परेकी भण्डारी विगत १९ बर्षदेखि पत्रकारिता पनि क्रियाशील रहेकी छन् । भण्डारी नेपाल सरकारको न्युनतम पारिश्रमिक निर्धारण समितिकी सदस्य र नेपाल पत्रकार महासंघ कास्की शाखाको उपाध्यक्ष रहेकी छन् । भण्डारी महिला पत्रकारहरुको संगठन सञ्चारिका समूहको केन्द्रीय सदस्य पनि हुन् । उनी रेडियो जननीको स्टेशन म्यानेजर पनि हुन् ।

जम्मा ३७ जिल्लाका विभिन्न रिक्त पदमध्ये प्रतिनिधिसभा सदस्य १, प्रदेशसभा सदस्य ३ तथा स्थानीय तहका प्रमुख १, अध्यक्ष ३, उपाध्यक्ष १ र वडाध्यक्ष ४३ गरी जम्मा ५२ पदका लागि मङ्सिर १४ गते उपनिर्वाचन हुन लागेको हो ।
 


प्रतिक्रिया दिनुहोस्