मंसिरदेखि नेपालमा ई–पासपोर्ट जारी हुने, यस्ता विशेषता हुनेछन्…

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  ९ : ५२


काठमाडौं। नेपाल सरकारले आगामी मंसिर १ गतेदेखि विद्युतीय राहदानी ई–पासपोर्ट जारी गर्ने भएको छ। राहदानी विभागले त्रिपुरेश्वरथित रहेको नयाँ विभागको भवनमा ई–पासपोर्ट आगामी मंसिर १ गतेदेखि जारी गर्ने भएको हो ।

विभागले उक्त राहदानी छपाईको कार्य अन्तिम चरणमा पुगी परिक्षण गरिरहेको जनाएको छ।

विभागका प्रवक्ता शरदराज आरनले आगामी मंसिर १ गतेदेखि ई–पासपोर्ट जारी गर्नको लागि तयारी गरिरहेको बताए। उनकाअनुसार हाल विभागले सम्पूर्ण आवश्यक पूर्वाधारहरू तयार गरी परिक्षणहरू गरिरहेको छ।

‘विभागले अहिलेसम्म नेपालले मेसिन रिडेबल पासपोर्ट एमआरपी जारी गरिरहेको छ। तर, अबका दिनमा मंसिर १ गतेदेखि ईपासपोर्ट जारी हुनेछ,’ उनले भने।

विभागले पहिलो पटक ईपासपोर्ट जारी गर्ने भएकाले मंसिर १ गतेबाट आंशिक रुपमा मात्रै छपाई गरी वितरण गर्ने तयारी गरेको छ। त्यसमा विभागले दोस्रो साताबाट मात्रै पूर्णरुपमा रुपान्तरण गर्ने तयारी गरेको उनको भनाइ छ।

तर, पहिलो चरणमा सिमीत ईपासपोर्ट छपाई गरेपनि अत्यावश्करुपमा बनाउने सेवाग्राहीलाई एमआरपी प्रदान गर्ने तयारी भएको छ।

विशेषता
ई–पासपोर्टमा विद्युतीय चिप र एन्टेना जडान गरिएको छ।

यसलाई पोलिकार्बोनेटसहितको ईपासपोर्ट पनि भन्ने गरिन्छ। उक्त विद्युतीय चिप र एन्टेना जडान गरिएको ईपासपोर्टमा चिपमा औँठाछाप, तस्बिर र व्यक्तिगत विवरण राख्न सकिन्छ।

सो विवरणहरू राखेर चिप लक गरिसकेपछि जो कोहीले सजिलै परिवर्तन गर्न नसक्ने भएकाले निकै सहज र विश्वासिलो हुने विभागको दाबी छ।

विभागले एमआरपीको तस्बिर भएको डाटा पेजमा अप्टिकल क्यारेक्टर पहिचानको लागि मेसिन रिडेबल जोन राख्नेछ। उक्त राहदानी रिडर मेसिनले रिड गर्दा राहदानीमा रहेको महत्वपूर्ण विवरणहरू देखिनेछन्।

साथै, विद्युतीय राहदानीमा विद्युतीय चिप र एन्टेनासमेत जडान गरिएको हुनाले आवगमनमा सहज पनि हुनेछ । हाल जारी गर्ने तयारी गरेको राहदानी ६४ पृष्ठ हुनेछन्।


प्रतिक्रिया दिनुहोस्