पाकिस्तान प्रशासित कस्मिर पुगे चिनियाँ सेना, सीमा–नाकाको गाउँमा गरिरहेका छन् सर्वेक्षण

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  ७ : ५०


भारतसँग राम्रो सम्बन्ध नभएको चीन र पाकिस्तान घनिष्ठ राष्ट्र हुन्। उनीहरुबीच आर्थिक साथै सैन्य रुपमा पनि सहकार्य हुँदै आएको छ।

यसबीचमा चिनियाँ सेनाहरु पाकिस्तान प्रशासित कस्मिरको क्षेत्रमा देखिएका छन्। समाचार संस्था एएनआईका अनुसार चिनियाँ सेनाले सीमा क्षेत्रको गाउँमा सर्वेक्षण गरिरहेका छन्।

कस्मिर अब्जर्भरका अनुसार पाकिस्तानको नियन्त्रणमा रहेको कस्मिरको केल, जुरा र लिपा सेक्टरमा चार दर्जन चिनियाँ सेना एक महिना पहिले त्यहाँ पुगेका छन्।

चिनियाँ सेनाले पाकिस्तानी सेना र त्यहाँको अनुसन्धान एजेन्सीसँग मिलेर गाउँहरुमा अनुसन्धान गरिरहेको बताइएको छ।

चिनियाँ सेना पाकिस्तानद्वारा नियन्त्रित कस्मिरमा पुग्नु भारतको लागि टाउको दुखाइको विषय भएको छ।

सिंगो कस्मिर भारत र पाकिस्तानमा बाँडिएको छ। जसकारण त्यहाँ भारत प्रशासित कस्मिर र पाकिस्तान प्रशासित कस्मिर छ। पाकिस्तान प्रशासित कस्मिरबाट भारतीय क्षेत्रमा घुसपैठ र आक्रमणको घटना भइरहन्छन्।

पाकिस्तानको भूमिबाट भारतलाई आतंकित बनाउने गतिविधि भइरहन्छ। यसबीचमा भारत प्रशासित कस्मिरको सीमा क्षेत्रमा चिनियाँ सेना पुगेपछि भारतमा सुरक्षा खतरा बढेको महसुस भएको छ।

भारतीय अधिकारीहरुले आफूहरुले चिनियाँ सेनाको गतिविधिहरुलाई निगरानी गरिरहेको जनाएका छन्।


प्रतिक्रिया दिनुहोस्