बागलुङको जङ्गलमा भेटियो एकसाथ तीन जनाको शव

प्रकाशित मिति : १६ कार्तिक २०७६, शनिबार  ९ : ३३


बागलुङ । बागलुङको गलकोट नगरपालिका र गुल्मीको चन्द्रपुर गाउँपालिकाको सिमानामा रहेको जङ्गलमा आज दुई बालबालिकासहित तीन जनाका शव फेला परेका छन्। 

चन्द्रपुर–३ पोखरीयाको जङ्गलमा तीन जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक झवीन्द्र भट्टराईले जानकारी दिनुभयो। गुल्मीतर्फको जङ्गलमा शव फेला परेका गलकोट नगरपालिका वडा नं ३ का वडा अध्यक्ष वीरजंग भण्डारीले बताउनुभयो। 

अन्दाजी २६ वर्षीया महिला, सात वर्षीय बालक र पाँच वर्षीया बालिकाको शव फेला परेको हो। स्थानीयले घाँस दाउरा गर्नेक्रममा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। 

घटनास्थलमा गुल्मीबाट प्रहरी टोली पुग्दै गरेको भट्टराईले बताउनुभयो। “नजिकको प्रहरी कार्यालयभन्दा पाँच घण्टा टाढा घटना भएको हो”, उहाँले भन्नुभयो, “प्रहरी पुगेपछि मात्रै उनीहरुको पहिचान हुन्छ।” घटनाको विषयमा थप जानकारी आउन बाँकी छ।


प्रतिक्रिया दिनुहोस्