बेन्च बहिस्कारविरुद्ध कानुन व्यवसायीको प्रदर्शनः ‘दबाबको शासन अन्त्य गर’को नारा लाग्यो

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  ३ : ४७


काठमाडौं। बेन्च बहिस्कार गरेर नेपाल बार एसोसिएसनको आन्दोलनमा सर्वोच्चका न्यायाधीशहरु नै सहभागी भएपछि कानुन व्यवसायीहरुले प्रदर्शन गरेका छन्। उनीहरूले ‘दबाबको शासन अन्त्य गर, विधिको शासन कायम गर’ जस्ता प्लेकार्डसहित नारा लगाएका हुन्।

कार्यपालिकासँग राजनीतिक भागबन्डा खोजेकोलगायतका आरोपमा लगाएर प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै बार र सर्वोच्च अदालतकै १९ जना न्यायाधीश आन्दोलनमा उत्रिएको छ।

बेन्च बहिस्कार गरेर न्यायाधीशसहित बार आन्दोलनमा उत्रिएपछि कानुन व्यवसायीसहितले शुक्रबार ‘बेन्च बहिस्कार अन्त्य गर’ ह्यासट्यागसहितको प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन्। प्रदर्शनमा स्वागत नेपाल, भूमिनन्द चुडालसहितका कानुन व्यवसायी सहभागी थिए।

बिहीबार र शुक्रबार बारको धर्नामा कानुन व्यवसायी र सुरक्षाकर्मीबीच घम्साघम्सी परेको थियो। शुक्रबार बारले जबरालाई कार्यालय प्रवेश गर्न नदिने गरी धर्नामा बसेको थियो। तर, अर्कै गेट प्रयोग गरेर जबरा कार्यालयमा गएका थिए।


प्रतिक्रिया दिनुहोस्