भारतले नेपालका जडीबुटीमा लगाएको प्रतिबन्ध हटायो

प्रकाशित मिति : असार ३, २०७८ बिहीबार


काठमाडौँ । भारतले नेपालका विभिन्न प्रकारका जडीबुटीको निकासीमा लगाउँदै आएको प्रतिबन्ध हटाएको छ। भारतीय सरकारले राजपत्रमा सूचना निकालेर जडीबुटी निकासीमा लगाउँदै आएको प्रतिबन्ध हटाएको जानकारी दिएको हो। 

गत वर्षदेखि लगाउँदै आएको प्रतिबन्ध हटेपछि नेपालगञ्जमा लामो समयदेखि थन्किएर रहेका चार हजार टन जडीबुटीको निकासी प्रक्रिया सुरु भएको छ। 

नेपाल र भारतका प्लान्ट क्वारेन्टाइनका उच्च अधिकारीबीच गत भदौमा काठमाडौँमा भएको बैठकमा भारतीय क्वारेन्टाइनले ३१ प्रकारका जडीबुटी तत्काल सूचीकृत गर्ने सहमति भएको थियो। 
त्यही सहमति अनुसार ३१ प्रकारका जडीबुटीलाई भारतीय प्लान्ट क्वारेन्टाइनको सूचीमा समावेश गरिएपछि निकासीको बाटो खुलेको हो। 

नेपालबाट भारतमा सबैभन्दा बढी निकासी हुनेमा  रिठा, कुट्की, दालचिनी, पाखनवेद, चुत्रो बोक्रा, चुत्रो काठ, अमलालगायतका जडिबुटी छन्।  सिकाकाई, पदमचाल, तेजपात, सुगन्ध कोकिला, अश्वगन्धा ,जटामासी मार्क, अमलवेद, टिमुर, सुगन्धवाल र क्यामोमाइलको पनि निकाशी रोकिएको थियो। 

निकासी बन्द गरिँदा ठूलो परिमाणको जडीबुटी गोदाममा थन्किएको थियो । सबैभन्दा बढी जडीबुटी भारत तथा तेस्रो देशमा निकासी हुने नाका नेपालगञ्ज हो। 


प्रतिक्रिया दिनुहोस्