लरीभित्र मृत फेला परेका ३९ जना भियतनामका नागरिक

प्रकाशित मिति : १६ कार्तिक २०७६, शनिबार  ५ : ५३


ब्रिटेन । ब्रिटेनको एसिक्समा एउटा लरीभित्र मृत फेला परेका ३९ जना व्यक्ति भियतनामका नागरिक भएको प्रहरीले बताएको छ। गत साता एउटा औद्योगिक क्षेत्रमा चिसो तापक्रम हुने व्यवस्था गरिएको लरीभित्र ती शवहरू फेला परेका थिए। यसअघि फेला परेका ती शव चिनियाँ नागरिकको भएको बताइएको थियो। 

एसिक्स प्रहरीले अहिले आफूहरू केही मृतकका भियतनाम र यूकेस्थित परिवारजन तथा भियतनाम सरकारसँग सोझो सम्पर्कमा रहेको बताएको छ। केही भियतनामी परिवारहरूले आफ्ना प्रियजन पनि त्यसरी मृत्यु हुने मध्ये हुन सक्ने आशङ्का व्यक्त गरेका थिए।

त्यसरी शव भेटिनुभन्दा केही समयअघि २६ वर्षीया एक महिलाले परिवारलाई सन्देश पठाउँदै आफ्नो विदेशयात्रा असफल भएको जनाउ दिएकी थिइन्।मृत्यु हुनेमा ३१ पुरुष र आठ महिला छन्। मृत्युको कारण पत्ता लगाउन शवपरीक्षण भइरहेको छ।

प्रहरी अधिकारी टिम स्मिथका अनुसार अहिले प्रहरीलाई सबै मृतकहरू भियतनामी नागरिक हुन् भन्ने लागेको छ। तर कुनै पनि मृतकको सनाखत गर्ने अवस्थामा प्रहरी नभएको उनले बताए।लन्डनस्थित भियतनामी दूतावासले घटनाबाट आफू धेरै दुस्खी भएको भन्दै शोकसन्तप्त परिवारप्रति सहानुभूति व्यक्त गरेको छ।

उसका अनुसार पीडितहरूको परिचय अझै खुल्न तथा दुई देशका सम्बन्धित निकायले त्यसको पुष्टि गर्न अझै बाँकी छ।


प्रतिक्रिया दिनुहोस्