पर्यटक बढेसँगै सगरमाथा क्षेत्रमा हेलिकप्टरको उडान बढ्यो

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  ८ : २६


सोलुखुम्बु। सगरमाथा क्षेत्रमा हेलिकप्टर उडान तथा अवतरण हुने क्रम बढेको छ। खुम्बुमा पर्यटक आगमन बढेसँगै निकुञ्ज क्षेत्रमा हेलिकप्टर उडान हुने क्रम बढेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ।

कार्यालयका सूचना अधिकारी विष्णु रोकायका अनुसार पछिल्लो एक महिनामा मात्रै साढे तीन सय पटक भन्दा बढी हेलिकोप्टर उडान तथा अवतरण भएको छ।

गत असोज १५ गतेदेखि कात्तिक १५ गतेसम्म ३ सय ७२ पटक उडान तथा अवतरण भएको निकुञ्जको तथ्यांक छ। खुम्बु क्षेत्रमा पर्यटकले भ्रमण, कार्गो ढुवानी तथा आकस्मिक उद्धारका लागि हेलिकप्टरको प्रयोग गर्ने गरेका छन्।

तर, पछिल्लो महिना उडान तथा अवतरण भएका अधिकांश हेलिकप्टर भ्रमणका लागि नै प्रयोग भएको सूचना अधिकारी रोकायले जानकारी दिए।

यस्तै एक महिनाको अवधिमा हेलिकोप्टरबाट ११ लाख बढी राजस्व संकलन भएको छ। निकुञ्ज क्षेत्रमा उडान तथा अवतरण शुल्क बापत प्रति उडान ३ हजारका दरले ११ लाख १६ हजार रुपैयाँ संकलन भएको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ।

यस सिजनमा हेलिकप्टरको प्रयोग गरी भ्रमणमा आउने पर्यटक बढेसँगै निकुञ्जको राजस्व संकलनमा उल्लेखनीय वृद्धि भएको निकुञ्जका सूचना अधिकारी रोकायले बताए।


प्रतिक्रिया दिनुहोस्