कृष्णनगरको कर्फ्यू बिहान ६ बजेबाट हट्यो

प्रकाशित मिति : १६ कार्तिक २०७६, शनिबार  १२ : ४४


कपिलबस्तु । बिहीबार बिहान ११ बजेदेखि कपिलवस्तुको कृष्णनगरमा लागेको लगाइएको कर्फ्यू आज बिहान ६ बजेबाट हटाइएको छ ।

लक्ष्मीपूजाको मूर्ति बिसर्जनको क्रममा विवाद भएपछि कपिलवस्तुको कृष्णनगरमा उत्पन्न तनाव साम्य पार्न भन्दै बिहीबार अनिश्चिकालिन कर्फ्यू लगाइएको थियो । 

बिहीबार राति अबेर स्थानीय, सम्बन्धित पक्ष, कपिलवस्तु जिल्ला प्रशासन र सुरक्षा निकायका प्रदेश प्रमुखहरुसहितको सर्वपक्षीय वार्ताबाट लक्ष्मी पूजाको मूर्ति बिसर्जन गर्ने र प्रहरीको गोलीबाट मारिएका व्यक्तिको शव उठाउने सहमति भएको थियो ।  

वार्तापछि प्रहरीको सहयोगमा लक्ष्मीपूजाको मूर्ति राति नै बिसर्जन गरिएको र मृतकका आफन्तले शव बुझेर शुक्रबार साँझ अन्त्येष्टि गरेका थिए । 

बुधबार लक्ष्मीपूजाको मूर्ति बिसर्जनको र्‍यालीलाई प्रहरीले मुस्लिम बाहुल बस्तीबाट नलैजान आग्रह गरेको विषयमा विवाद बढेको थियो । स्थिति तनावपूर्ण भएपछि जिल्ला प्रशासन कार्यालयले बिहीबार कृष्णनगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु लगाएको थियो । कर्फ्युकै क्रममा प्रहरीले गोली चलाउँदा भारतको बढनी घर भइ कृष्णनगरमा व्यवसाय गर्ने १८ वर्षका सुरजकुमार पाण्डेको मृत्यु भएको थियो ।

कृष्णनगरमा गत वर्ष पनि मूर्ति बिसर्जनका क्रममा विवाद भएको थियो । हिन्दू र मुस्लिम समुदायसँग जोडेर विवाद बढ्दै जाँदा हिंसात्मक घटना हुने गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्