सुरक्षा निकायलाई प्रदेश मातहतमा तत्काल ल्याउँछौंः मन्त्री साह

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  ५ : ०३


महोत्तरी। प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्रदेशअन्तर्गत काम गर्ने सम्पूर्ण सुरक्षा निकायलाई अविलम्ब प्रदेश मातहतमा ल्याउने बताएका छन्।

छठ पर्वको अवसरमा महोत्तरीको औरहीमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री साहले तत्काल प्रक्रिया अगाडि बढाउन गृहमन्त्री बालकृष्ण खाँणसँग छलफल भैसकेको दाबी गरेका छन्।

कार्यक्रममा उनले प्रदेश २ मा च्याउसरी उम्रेका मिडियाहरू कसरी सन्चालन भैइरहेका छन् भन्ने बिषयमा समेत अध्ययन भैइरहेको बताए। उनले भने, ‘प्रदेश २ मा सैद्धान्तिक पत्रकारिताको विकाससँगै पत्रकारहरूको जीवनवृत्तिको लागि समेत धेरै योजना बनाइरहेका छौँ।’

उनले अहिले गठन भएको प्रदेशस्तरीय मिडिया काउन्सिल, आमसञ्चार प्राधिकरण र चलचित्र विकास बोर्डलाई विघटन गरी एउटै बनाउने प्रक्रियामा प्रदेश सरकार जुटिसकेको जानकारी पनि दिए।

मिडिया काउन्सिल, आमसञ्चार प्राधिकरण र चलचित्र विकास बोर्डमा जागीर दिने थलो मात्र बनाएको बताउँदै कतिपय कर्मचारीहरूको नागरिकता समेत नक्कली भएको खुलासा गरे।

ऐनको अप्ठ्यारोको कारण अहिलेसम्म थाहा हुँदाहुँदै पनि मुकदर्शक बन्नु परेको मन्त्री साहले बताए। मिडिया क्षेत्रमा रहेको अप्ठ्यारो र पत्रकारहरूको समस्यालाई मध्यनजर गर्दै प्रदेश अन्तर्गत लोककल्याणकारी विज्ञापन सवैलाई वितरण गर्नेतर्फ पनि मन्त्री साहले प्रतिबद्धता जनाए।


प्रतिक्रिया दिनुहोस्