चक्कु प्रहारबाट घाइते युवकको उपचारका क्रममा मृत्यु

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


सुर्खेत । यही कात्तिक १२ गते दिपावलीकै दिन चक्कु प्रहारबाट गम्भीर घाइते वीरेन्द्रनगर नगरपालिका– १० का ३० वर्षीय चन्दन रानाको उपचारका क्रममा मृत्यु भएको छ । 

रानाको उपचारका क्रममा बिहीबार बेलुका भारतको लखनउमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिनुभयो ।

दिपावलीका दिनमा सुर्खेत दीपनगरमा भैली खेलिरहेका समयमा सोही वडा निवासी २९ वर्षीय निर्मल सोनी, १९ वर्षीय केशव खनाल र २२ वर्षीय प्रेम गुरुङले पछाडिबाट टाउकोमा चक्कु प्रहारगरी सख्त घाइते बनाएको उहाँले बताउनुभयो ।

प्रवक्ता रावलका अनुसार घाइते रानालाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिए पनि अस्पतालले नेपालगञ्ज सिफारिस गरेको थियो ।

नेपालगञ्ज पनि उपचार हुन नसकेपछि रानाका आफन्तले थप उपचारका लागि लखनउ लगेका थिए । रानालाई चक्कु प्रहार गर्ने खनाल र गुरुङलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

प्रहरीका अनुसार फरार सोनीको खोजतलास कार्यलाई तीव्र बनाईएको छ ।
 


प्रतिक्रिया दिनुहोस्