बहुदलीय प्रतिस्पर्धाबाट समाजवाद हुँदै साम्यवादमा पुग्न सकिन्छ’

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता वामदेव गौतमले बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीबाट नै मुलुकमा समाजवाद स्थापना गर्ने बताउनुभएको छ । मदन भण्डारी फाउण्डेशनले आज यहाँ आयोजना गरेको दशैँ, तिहार, नेपाल सम्वत् तथा छठपर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले बहुदलीय प्रतिस्पर्धाबाट समाजवाद हुँदै साम्यवादमा पुग्ने बताउनुभयो ।

उहाँले अहिले मुलुकमा समाजवाद निर्माण गर्ने उपयुक्त विचार के हुन सक्दछ भनेर छलफल भइरहेको बताउँदै अन्य दार्शनिकका विचारले नभई हाम्रै देशमा नै बनाइएको विचारले मुलुकलाई निकास दिने उल्लेख गर्नुभयो । “हामीले हाम्रै मुलुकमा विकास भएको विचारधारालाई टेकेर समाजवाद स्थापना गर्ने हो”, उहाँले भन्नुभयो, “माक्र्सवाद र लेनिनवाद दर्शनसम्बन्धी विचार हुन् । यी विचारले हाम्रो देशलाई ठोस निकास दिँदैनन् ।” पार्टी एकीकरण गर्दा भएका सहमतिअनुसार नै पार्टीको विचारलाई अवलम्बन गरिने उहाँको भनाइ छ ।

नेता गौतमले आगामी एकता महाधिवेशनसम्म पार्टीको विचार कुन हुने भन्नेबारेमा निष्कर्ष निकाल्ने भन्दै जनताको बहुदलीय जनवाद (जबज) लाई अगाडि सार्ने हो भने सुनभन्दा नि पक्का सुन हुने बताउनुभयो । “पार्टी एकतामा अर्को शक्तिलाई पनि सम्मान गरेर जानु पर्दछ”, उहाँले भन्नुभयो, “सम्मान गर्नका लागि जबज र २१ आँै शताब्दीको जनवादलाई परिमार्जन गरेर पार्टीका आधिकारिक विचारधारा निर्माण गर्ने छाँै ।” उहाँले पार्टी एकतालाई ख्याल गरेर फाउण्डेशनले मदन भण्डारीको विचारलाई अगाडि सार्नुपर्ने बताउनुभयो । कार्यक्रममा फाउण्डेशनका अध्यक्ष उषाकिरण भण्डारीले एकतापछि पनि मदन भण्डारीको विचारलाई पार्टीले अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो ।


प्रतिक्रिया दिनुहोस्