च्यासलमा अर्पण र मार्टन अनुबन्ध

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  ६ : ५६


काठमाडौं। ललितपुरको च्यासल युथ क्लबले आगामी शहिद स्मारक ए डिभिजन लिगका लागि गोलरक्षक अर्पण कार्की र विदेशी खेलाडी शेम मार्टनलाई भित्र्याएको छ।

सोमबार क्लबले विज्ञप्ति जारी गर्दै गोलरक्षक अर्पण कार्की र भारतीय सेन्टर मिडफिल्डर शेम मार्टनलाई २९ कात्तिकबाट सुरु हुने लिगको लागि क्लबमा अनुबन्धन गरेको जनाएको हो।

‘च्यासल युथ क्लब अर्पणलाई स्वागत गर्न पाउँदा निकै खुसी छ। अर्पण नेपालको उमेर समूहमा एक सफल कप्तान हुने समेत हुन्’, च्यासलले भनेको छ।

अर्पणले उमेर समूहमा नेपालको यू-१५, १९ र २३ टोलीको कप्तानी गरिसकेका छन्। अर्पणको कप्तानीमा नेपालले यू-१९ साफ च्याम्पियनसिपको उपाधि हात पारेको थियो। नेपालले १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा स्वर्ण पदक जित्दा टोलीका सदस्य थिए।

यसअघि अर्पणले घरेलु लिगमा नेपाल पुलिस क्लबबाट खेल्दै व्यावसायिक फुटबलको सुरुवात गरेका थिए। पछिल्लो समय भने अर्पणले माल्दिभ्सको जेजे स्पोर्टस् र भुटानको पारो एफसीबाट लिग खेलेका थिए।

च्यासलमा अर्पणको आगमनसँगै अर्का गोलरक्षक विनय श्रेष्ठ दोस्रो रोजाइमा रहेर खेल्न सक्छन्। यद्यपि, दुबै खेलाडीबीच सुरुवाती एघारमा खेल्न निकै नै प्रतिस्पर्धा हुनेछ।

सोमबार नै च्यासलले दक्षिण एसियाली कोटामा भारतीय शेम मार्टनलाई अनुबन्धन गरेको छ । २६ वर्षीय सेन्टर मिडफिल्डर मार्टनसँग भारतीय प्रथम डिभिजन चेन्नई सिटी फुटबल क्लबबाट खेलेको अनुभव छ ।

यसअघि च्यासलले विकास मेराग्लीयासँगै तीन विदेशी खेलाडी पूरा गरिसकेको छ । ए डिभिजन लिगमा चार विदेशी खेलाडी खेलाउँदा एक अनिवार्य दक्षिण एसियाली खेलाडी खेलाउनु पर्नेछ ।

यस सिजनको ए डिभिजन लिगमा च्यासलले ललितपुर डर्बीअन्तर्गत थ्रीस्टार क्लबविरुद्ध खेल्दै लिगको सुरुवात गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्