मृतकका परिवारलाई राहत देऊ, घाइतेको यथाशीघ्र उपचार गराऊ: विप्लव

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  ९ : २०


नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आइतबार सल्यानमा भएको यात्रुबस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै दुर्घटनामा मृत्यु हुने १२ जना नागरिकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन्।

महासचिव विप्लवले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै यथाशीघ्र उपचार गराउन सरकारसँग आग्रह गरेका छन्।

महासचिव विप्लवको विज्ञप्तिमा भनिएको छ, ‘हरेक वर्ष चाडपर्वको समयमा हुने अकल्पनीय दुर्घटनामा कयौँ नेपाली जनताले अनाहक ज्यान गुमाउनुपर्ने अवस्था अझै अन्त्य हुन नसक्नु दुःखको कुरा हो। सरकारहरू फेरिए पनि आआफ्नो स्वार्थ र लुछाचुँडीमा व्यस्त छन्। जनजीविकाका विषयहरू सरकारको प्राथमिकतामा पर्ने गरेका छैनन्। जनताको सहज र सुनिश्चित यातायात सेवा प्रयोग गर्न पाउने अधिकार अझै प्राप्त हुनसकेको छैन । जनताप्रति उत्तरदायी व्यवस्था र सरकारले मात्र यो अवस्था निर्माण गर्न सक्छ। यस किसिमका दुर्घटना हुने अवस्था अन्त्य गर्न, मृतकका परिवारलाई क्षतिपूर्ति दिन र घाइतेहरूको यथाशीघ्र उपचार गराउन सरकारसँग जोडदार आग्रह गर्छौं।’


प्रतिक्रिया दिनुहोस्