नाछिरिङको मुन्धुम घर निर्माणका लागि काठमाडौंमा खेलियो देउसी

प्रकाशित मिति : २१ कार्तिक २०७८, आइतबार  ९ : ०९


खोटाङ। काठमाडौंमा रिदुम खिम (मुन्धुम घर) निर्माणका लागि नाछिरिङ राई समुदायले देउसी खेलेका छन्।

गोकर्णेश्वर नगरपालिकाको गोकर्ण उत्तरगयामा रिदुम खिम (मुन्धुम घर) निर्माणका लागि किरात रदु नाछिरिङ साखाम केन्द्रले देउसी खेलेका हुन्।

साखामको कार्यालय नारायणचोक, अतिथि किचन, कपनमा आइतबार आयोजना गरिएको देउसीबाट भवन निर्माणका लागि २ लाख ६९ हजार ८४० रुपैयाँ रकम संकलन भएको किरात रदु नाछिरिङ साखाम केन्द्रका महासचिव गान्धिव किरातीले बताए।

देउसीको दानबाट १ लाख १४ हजार ४८०, सोलु सोताङ गाउँपालिका अध्यक्ष वीरबहादुर नाछिरिङबाट १ लाख र साखामका आजीवन सदस्य सोताङ–१ निवासी निरकुमार नाछिरिङबाट ५ हजार दान प्राप्त भएको छ।

यस्तै, सोताङका हरिबाबु राई नाछिरिङबाट ५० हजार सहयोग गर्ने प्रतिबद्धता प्राप्त भएको साखामले जनाएको छ । जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख वीरकुमार नाछिरिङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सोलु सोताङ गाउँपालिका अध्यक्ष नाछिरिङ, ऐसेलुखर्क गाउँपालिका उपप्रमुख पुष्पकला भुजेल लगायतको उपस्थिति रहेको थियो।

किरात रदु नाछिरिङ साखाम केन्द्रका लागि २ करोड २८ लाख ५४ हजार ९२५ रुपैयाँको लागतमा साँढे तीन तले रिदुम खिम निर्माणको तयारी गरिएको छ । किरात नाछिरिङ राईको सामुदायिक हित, भाषा, संस्कार, संस्कृति, विकास, संरक्षण एवं प्रर्द्धनका लागि रिदुम खिम निर्माण गर्न लागिएको हो ।


प्रतिक्रिया दिनुहोस्