कृष्णनगरमा लगाइएको निषेधाज्ञा अझै हटेन

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार  ४ : २८


काठमाडौं ।  बिहीबार विहान ११ बजेदेखि कपिलवस्तुको कृष्णनगरमा लगाईएको कर्फ्यू आदेश अहिले अझै कायम छ । 

तिहारको लक्ष्मीपूजाको लागि स्थापना गरिएको लक्ष्मीमाताको मूर्ति विसर्जनको क्रममा दुई समूहबीच  विवाद पछिको अवस्था नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले कृष्णनगर बजार क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो।

लक्ष्मीमाताको मूर्ति विसर्जन गर्न लैजाने समुह र स्थानीयकाबिचमा मूर्ति लगिएको रुटको विषयमा विवाद भएको थियो।

सामान्य विषयमा भएको विवादले उग्ररुप लिएपछि उत्पन्न परिस्थितिलाई नियन्त्रण गर्न प्रहरीले चलाएको गोली लागेर कृष्णनगरमा व्यवसाय गर्दै आएका भारतीय नागरिक २० वर्षिय सुरज पाण्डेको मृत्यु भएपछि अवस्था झनै तनावग्रस्त बनेको थियो।

गोली लागेर मृत्यु भएका पाण्डेको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल तौलिहवामा राखिएको छ ।

पाण्डेको शव पोष्टमार्टम गरी परिवारलाई बुझाएर परिस्थितिको आँकलन गरेपछि निषेधाज्ञाबारे अर्को निर्णय हुने जिल्लाल प्रशासन कार्यालयले जनाएको छ । 

स्थानीय प्रशासनले जारी गरेको सूचना अनुसार कृष्णनगर भन्सार कार्यालयदेखि ७ सय मीटर उत्तर, पश्चिम तर्फ ७ सय मीटर र पूर्वतर्फ ३ सय मीटरसम्म अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ।

स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरे लगत्तै कृष्णनगर बजार क्षेत्रमा प्रदर्शनमा उत्रिएको समुहमाथि प्रहरीले गोली प्रहार गर्दा पाण्डेको मृत्यु भएको थियो।

प्रदर्शनमा उत्रिएको समुहले प्रहरी माथी ढुंगामुढा तथा बोत्तर प्रहार गर्दै ट्राफिक प्रहरी पोष्टमा आगजनी गरेका थिए। झडपमा परी केहि प्रहरी र प्रदर्शनकारी घाईते भएको प्रहरीले जनाएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले बुधवार राती देखि नै दर्जनौं राउण्ड अश्रु ग्यांस प्रहार गरेको थियो ।
 


प्रतिक्रिया दिनुहोस्