कांग्रेसले उम्मेदवार छान्ने जिम्मा आज पदाधिकारीलाई दिने, आइतबार घोषणा हुने

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार  ४ : २८


काठमाडौं ।  नेपाली कांग्रेसले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार छनोटको गृहकार्यमा व्यस्त छ । 

केन्द्रीय कार्यसमितिको शुक्रबार बस्ने बैठकले उम्मेदवार तय गर्ने अधिकार पदाधिकारीहरूको बैठकलाई प्रत्यायोजन गर्ने र आइतबार बस्ने पदाधिकारी बैठकले टुङ्गो लगाउने जनाएको छ । 

कात्तिक २१ मा उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ । कांग्रेस विधानमा संसदीय समितिले उम्मेदवारको नाम तय गर्ने र केन्द्रीय समितिले अनुमोदन गर्ने व्यवस्था छ । प्रतिनिधिसभा र प्रदेशसभाको अघिल्लो निर्वाचनपछि विघटन गरिएको संसदीय समिति पुनः गठन भएको छैन ।  

पदाधिकारी र पार्टीको जागरण अभियानक्रममा जिल्ला–जिल्लामा खटिएका प्रतिनिधिहरूको बिहिबार बसेको बैठकले कास्कीमा प्रतिनिधिसभा सदस्य तथा दाङ, बागलुङ र भक्तपुरमा प्रदेशसभा सदस्यका लागि उम्मेदवार तय गर्नेबारे प्रारम्भिक छलफल सुरु गरेको छ । 

कांग्रेसका कास्की, बागलुङ, भक्तपुर र दाङका सम्बन्धित क्षेत्रीय समिति र जिल्ला समितिबाट सम्भावित उम्मेदवारहरूको नाम सिफारिस भएर आइसकेको छ ।

प्रतिनिधिसभाका १, प्रदेशसभाका ३ र स्थानीय तहका ४८ सहित रिक्त ५२ पदका लागि मंसिर १४ गते उपनिर्वाचन हुँदैछ ।


प्रतिक्रिया दिनुहोस्