महरा थुनामा रहने वा छुट्ने टुङ्गो लाग्दै

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार  ४ : २७


काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा आज थुनछेक बहस सुरु हुँदैछ ।

बिहिबार नै थुनछेक बहस सुरु हुने भनिए पनि मुद्दा दर्ता गर्न ढिला भएकाले आज सुरु हुन लागेको हो ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जबरजस्ती करणी उद्योगमा अधिकतम ५ वर्ष र उच्च ओहोदामा बसी कसुर गरेको अभियोगमा थप साढे २ वर्ष गरी ७ वर्ष ६ महिना कैद सजायको मागदाबी गर्दै महराविरुद्ध अदालतमा मुद्दा दायर गरेको हो ।

बहस सकिएपछि मात्रै धरौटी वा तारेखमा छुट्ने वा पुर्पक्षको लागि थुनामा पठाउने टुंगो लाग्ने छ । 

संघीय संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीले एक  महिना अगाडि (असोज १३)मा  यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन् ।

पछि पीडित महिलाको ‘उजुरी’का आधारमा प्रहरीले महरालाई सभामुखको सरकारी निवास बालुवाटारबाटै असोज १९ गते पक्राउ गरेको थियो ।

अनुसन्धानका लागि पटक पटक म्याद थप गरेर २५ दिन सम्म महरा हिरासतमा बसिसकेका छन् ।  प्रहरीले महराको तिहार अघि नै अनुसन्धान पूरा गरेर आफ्नो रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाइसकेको छ । 

सोही अनुसन्धान पत्रको आधारमा सरकारी वकिलको कार्यालयले बिहीबार महरा विरुद्ध जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरेको हो । 
काठमाडौं जिल्ला अदालतले महरामाथि अनुसन्धान गर्न यसअघि पहिलो पटक १३ दिन र त्यसपछि ५ दिन म्याद दिएको थियो । त्यसपछि महरालाइ थप अनुसन्धानका लागि अदालतले सात दिनको म्याद थप्न अनुमति दिएको थियो । 
 


प्रतिक्रिया दिनुहोस्