चन्दा सङ्कलनबाटै सभाहल निर्माण

प्रकाशित मिति : २० कार्तिक २०७८, शनिबार  ७ : २१


बेनी नगरपालिका–७ मा चन्दा सङ्कलनबाटै आठ सय जना क्षमताको सभाहल निर्माण गरिएको छ। नेपाल भाषा मंकाःखल म्याग्दीले सामुदायिक प्रयोजनका लागि उक्त सभाहल निर्माण गरेको हो ।

खलका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले रु ३५ लाख चन्दा सङ्कलन गरेर सभाहल निर्माण गरिएको जानकारी दिनुभयो।

“संस्थाका पदाधीकारी र सदस्यबाट जुटाएको रकमले भवन ठडयाएका हौँ”, उहाँले भन्नुभयो, “हालसम्म सरकारी सहयोग मागेका छैनौँ । व्यक्तिगत रुपमा सहयोग प्राप्त भइरहेको छ।” झण्डै २९ आना क्षेत्रफलको जग्गामा सभाहल र शौचालय निर्माण गरिएको छ । सभाहल परिसरमा पर्खाल लगाएर घेराउ गरिएको छ। रङ्गरोगन, फर्निचर, बिजुली, पानी जडानलगायत काम बाँकी छ । निर्माणको काम गत असारमा थालिएको हो । आगामी पुसभित्र सबै काम सम्पन्न हुने श्रेष्ठले बताउनुभयो।

नेवार समुदायको अगुवाइमा उक्त सभाहल निर्माण गरिएको हो । सो सभाहल सबैले प्रयोग गर्न पाउने मंकाः खलका पूर्वअध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बताउनुभयो । बेनी बजारमा सभा समारोह, भोज भतेर आयोजना गर्दा सभाहलको अभाव भएकाले सामाजिक आवश्यकता महशुस गरी भाहल बनाएको बेनी नगरपालिका–७ का वडा अध्यक्ष समेत रहनुभएका श्रेष्ठले बताउनुभयो। यहाँस्थित होटलमा पनि सभाहलको अभाव छ।

सभाहल निर्माणका लागि स्व चन्द्रशेखर श्रेष्ठको परिवारले चार आना र स्व काशीप्रसाद श्रेष्ठको परिवारले पाँच आना जग्गा उपलब्ध गराउनुभएको थियो । थप २० आना जग्गा खरिद गरेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । नेपाल संवत ११४२ का अवसरमा अमेरिकामा रहेका दलप्रसाद श्रेष्ठ र पुष्पा श्रेष्ठले रु तीन लाख ३३ हजार तथा तारा श्रेष्ठ जोशी र कृष्णबाबु जोशीले सभाहल निर्माणका लागि रु एक लाख १५ हजार उपलब्ध गराउनुभएको छ। रासस


प्रतिक्रिया दिनुहोस्