दाजुभाइले एक अर्कालाई लगाइदिए भाइटीका

प्रकाशित मिति : २० कार्तिक २०७८, शनिबार  ७ : १६


तनहुँ। शनिबार तिहारको मुख्य दिन भाइटीका। दिदी बहिनीले दाजुभाइलाई निधारमा सप्तरङ्गी टीका, गलामा मखमली र सयपत्रीको माला पहिराइदिएर दीर्घायुको कामना गरी मनाएका छन्। तिहारमा विशेषतः दिदी बहिनीले दाजुभाइलाई भाइटीका लगाइदिने प्रचलन छ। आफ्नै दिदी बहिनी नहुनेले पनि आफन्त र छरछिमेकका दिदी बहिनीसँग भाइटीका थाप्छन्।

तर, व्यास नगरपालिका–१० सेवरका मदन र सुमन तिम्लिसिनाले भने एक अर्कालाई भाइटीका लगाएर मनाएका छन्। सुरुमा दाजु मदनले भाइ सुमनलाई पानी र तेलको धारो चुहाउँदै फेरो मारे । भाइटीकाको प्रक्रिया अनुसार निधारमा सप्तरङ्गी टिका लगाएर फूलको माला गलामा पहिराइदिए।

भाइको शत्रु नास र दीर्घायुको कामना गर्दै ओखर फोरे । त्यसपछि भाइ सुमनले दाजु मदनलाई भाइटीका लगाइदिए।

आफ्नै घरमा दिदी बहिनी नभएपछि पाँच वर्षदेखि भाइटीका यसैगरी मनाउँदै आइरहेको मदन बताउँछन्। मदन र सुमन दुई दाजु भाइ मात्रै हुन्।

‘आफन्त दिदी बहिनको हातबाट टिका थाप्दै आइरहेका थियौं । उहाँका आफ्नै दाजुभाइ विदेश गएपछि हामीलाई टीका लगाउन आउन छाड्नु भो। हामी टिका थाप्न कुरिरहेका थियौं । नआएपछि मन खल्लो भो । त्यसपछि हामी दाजु भाइले नै भाइटीका गर्ने सोच बनाएर सुरु गर्‍यौं। त्यसपछि निरन्तर एक अर्कालाई टिका लगाएर भाइटिका मनाउँदै आइरहेका छौं’, उनले सुनाए।

मदन र सुमनले भाइटिका गर्दा सुरुमा धेरैले अनौठो माने । दाजुभाइबीच भाइटिका लगाउने सामाजिक मान्यता थिएन । सुरुको वर्ष उनीहरू आफैंलाई पनि असहज महसुस भयो।

दाजु भाइले भाइटीका लगाउन थालेपछि ‘हामी लगाइदिन्छौं भाइटीका’ भन्नेहरू धेरै भेटिए । तर, उनीहरूले सुरु गरेको भाइटीकालाई निरन्तरता दिन छाडेनन्।

दिदी बहिनी नभए पनि दाजु भाइले भाइटीका गर्दा तिहारमा निधार खाली राख्न नपर्ने सुमन बताउँछन् । ‘दाजु भाइले भाइटीका गर्दा सम्बन्ध पनि सुमधुर बन्छ । हामी सदैव यसैलाई निरन्तरता दिएर भाइटिका मनाउँछौं’, उनले भने ।

पछिल्लो समय दाजुभाइ नभएका दिदी बहिनीले पनि एक आपसमा भाइटीका लगाएर मनाउन थालेका छन् । जस कारण दाजुभाइ नहुने दिदी बहिनीको तिहारमा निधार खाली हुँदैन । र मन खल्लो हुन पाउँदैन।


प्रतिक्रिया दिनुहोस्