यो विशाल सृष्टि पूर्णतया शून्यताको काखमा अडिरहेको छ

प्रकाशित मिति : २० कार्तिक २०७८, शनिबार  ७ : ०८


तपाईंको अस्तित्वको सबैभन्दा महत्त्वपूर्ण पक्ष तपाईंको शरीर हो। जब हामी शरीरलाई साधनको रूपमा हेर्दछौँ, हामीले यो बुझ्नुपर्छ कि विभिन्न साधनहरू भिन्न–भिन्न क्रियाकलापहरूको लागि बनाइएका हुन्छन्। जब शारीरिक कुशलताको कुरा आउँछ, मानव शरीरलाई अन्य कुनै प्राणीसँग तुलना गर्न सकिँदैन । मानौँ यदि कुनै कीरा वा फट्याङ्ग्राको कुरा गर्ने हो भने, ती आफ्नो शरीरको लम्बाइको ५०–१०० गुणा बढी उफ्रिन सक्छन्।यदि तपाईंको लम्बाई ५–६ फिट छ भने, तपाईंले ५०० देखि ६०० फिटसम्म छलाङ्ग लगाउनु पर्ने हो । के यो सम्भव छ रु यदि तपाईंले गड्यौला, फट्याङ्ग्रा, बाघ, हरिण, हात्ती वा धरतीको कुनै पनि जीवको मापदण्डबाट ओलम्पिक आयोजना गर्नुभयो भने, तपाईं ती प्राणीहरूको अलिकति पनि नजिक हुनुहुन्न।

तसर्थ, शारीरिक कुशलताको दृष्टिले हामी आफूलाई धरतीको कुनै पनि प्राणीसँग तुलना गर्न सक्दैनौँ । तर, मनुष्यको रूपमा हामीमा केवल जीवनयापन गर्ने अन्तर्निहित प्रवृत्तिबाट माथि उठी केही अधिक गर्ने विशेष योग्यता रहेको हुन्छ, जुन सबैभन्दा महत्त्वपूर्ण कुरा हो । मनुष्यको रूपमा तपाईं जीविको–पार्जनको मूलभूत आवश्यकताहरूबाट माथि उठी जीवनलाई हेर्न अनि सोहीअनुसार यसलाई सञ्चालन गर्न सक्नुहुन्छ । दुर्भाग्यवश्, जीविका चलाउने आवश्यकताहरूभन्दा पर हेर्नुको सट्टा, अधिकांश मानिसहरूले आफ्नो जीविको–पार्जनको स्तरलाई नै माथि उठाएका छन् । यस्तो समय थियो, जहाँ दिनमा एक वा दुई छाक भोजन पाउनु जीविकोपार्जन वा जीवनयापन हुने गर्थ्यो । अहिले, जीविको–पार्जन भनेको बि.एम.डब्लू कार प्राप्त गर्ने भएको छ! मानव प्रणालीलाई उपयोग गर्ने यो तरिका निकै मूर्खतापूर्ण छ, किनकि मानव प्रणालीमा पूर्णतया फरक सम्भावना रहेको हुन्छ ।

भौतिकताः रङ्गको लेप

योगमा, मानिसको ढाडको हड्डीलाई मेरुद्दण्ड भनिन्छ, जसको अर्थ हो ब्रम्हाण्डको धुरी। व्यक्तिको मेरुद्दण्ड कसरी ब्रम्हाण्डको धुरी हुन सक्छ रु आज, आधुनिक विज्ञानले समेत यो स्वीकारेको छ कि पूरै अस्तित्व केवल स्पन्दन हो। यसलाई गहिराइमा हेर्ने हो भने, त्यही ऊर्जा कैयौँ रूपहरूमा स्पन्दित भइरहेको छ । त्यसैगरी, आज हामीलाई यो पनि थाहा छ कि यो विशाल सृष्टि पूर्णतया खालीपनमा वा शून्यताको काखमा अडिरहेको छ, जसलाई वैज्ञानिकहरू केही नाम दिने प्रयास गरिरहेका छन्, जस्तै कि डार्क इनर्जी (अन्धकारमय ऊर्जा)। तर, हामीलाई यो थाहा छ कि त्योभन्दा पर समेत पूर्णतया खाली स्थानहरू छन्। सबैभन्दा स्थूल भौतिक रूप देखि जसलाई तपाईं दिव्य वा चैतन्य भन्नुहुन्छ, ती सबैको आधार एउटै हो । जस्तै कि जब तपाईं ब्रसले पेन्ट गर्नुहुन्छ, शुरुमा रङ्ग गाढा र बाक्लो हुन्छ, त्यसपछि बिस्तारै–बिस्तारै यो पातलो हुँदै जान्छ अनि अन्त्यमा केही पनि रहँदैन— पूरै शून्य हुन्छ । सृष्टिको रचनाको प्रक्रियामा, मनुष्यको रूपमा तपाईं त्यस शून्यताको अधिक नजिक हुनुहुन्छ।

मानिसमा स्पन्दन मूलभूत रूपमा मेरुद्दण्डबाटै उत्पन्न हुन्छ। यो जति बढी सूक्ष्म हुन्छ, त्यति टाढासम्म जान्छ। यदि यो बढी स्थूल वा जड छ भने, यो निश्चित दुरीसम्म मात्रै रहन्छ। यदि यो अत्यन्तै सूक्ष्म बन्यो भने, तपाईं यसलाई जतासुकै फैलाउन सक्नुहुन्छ। जब तपाईंको स्पन्दन जताततै फलिन्छन्, तपाईं जुनसुकै कुरालाई बोध गर्न सक्नुहुन्छ । यतिखेर, आफ्नो सीमित अस्तित्वको आधारमा तपाईं जसलाई ‘मू भन्नुहुन्छ, ती तपाईंको संवेदनाको सीमाभित्रै रहेका छन्। जे–जति कुरा तपाईंको अनुभूतिको सीमाभित्र छन्, ती तपाईं हो। जे–जति कुरा तपाईंको अनुभूतिको सीमाबाहिर छन्, ती अरू व्यक्ति वा अरू चिज हुन् । यदि तपाईंले आफ्नो स्पन्दनलाई सूक्ष्म बनाउँदै लैजानुभयो भने, तपाईं आफ्नो अनुभूतिको सीमालाई अन्तहीन रूपमा फैलाउन सक्नुहुन्छ। ‘शिवले तेस्रो नेत्र खोलेू भन्नुको अर्थ के हो भने, उनले आफ्नो अनुभवको सीमालाई असीमित रूपमा विस्तार गरे। अतस् सम्पूर्ण अस्तित्व उनकै अंश हो अनि स्वाभाविक रूपमा शिव नै मूल केन्द्र हुन्। तर, शिव नै केन्द्र हुन् भन्ने कुरा कसरी थाहा हुन्छ?’

समय र स्थानको भ्रम

आज आधुनिक विज्ञानले कुनै दुबिधा बिनै यो प्रमाणित गरेको छ कि तपाईंले समय र स्थानलाई जुन रूपमा जान्नुभएको छ, त्यो पूर्णतया भ्रमपूर्ण छ। समय र स्थान दुवै विस्तार हुन सक्छन्, फैलिन सक्छन् । तपाईं तिनलाई आफूले चाहे जसरी बदल्न सक्नुहुन्छ । जुन कुरा १००० प्रकाश वर्ष टाढा छ, त्यसलाई अहिल्यै घटित गराउन सकिन्छ । जे १०,००० वर्ष पहिले भयो अनि जे १०,००० वर्ष पछि हुनेछ, त्यसलाई यतिखेरै गराउन सक्नुहुन्छ— किनकि, जे–जति छ त्यो यहीँ र अहिल्यै छ। म कुनै गूढ वा रहस्यविद्याको कुरा गरिरहेको छैन । आधुनिक विज्ञानले भनेअनुसार समय र स्थान ठूलो भ्रम हो। तपाईं यिनलाई जसरी चाह्यो त्यसरी बुझ्न सक्नुहुन्छ । अझ भन्नुपर्दा, आज केही वैज्ञानिकहरूले स्पष्ट रूपमा यो भनिरहेका छन् कि न त समय हुन्छ, न त स्थान! उनीहरू सही छन् । यही बुझाइबाट हामीले यो भनेका हौँ कि तपाईंको मेरुद्दण्ड ब्रम्हाण्डको धुरी हो । अथवा, कम्तीमा पनि तपाईं विशेष रूपमा स्पन्दित हुन सक्नुभयो भने, तपाईंको मेरुद्दण्ड ब्रह्माण्डको धुरी बन्न सक्दछ।

शरीर— चमत्कारपूर्ण साधन

यो शरीर एउटा साधन हो । के तपाईं यसलाई केवल खाना र अरू चिजहरू जम्मा गर्न प्रयोग गर्नुहुनेछ रु तपाईं यसलाई साहसिक कार्यहरूको लागि प्रयोग गर्नुहुनेछ?अथवा, तपाईं यसलाई सम्भव भएसम्म सबैभन्दा उच्च तरिकाले प्रयोग गर्नुहुनेछ रु यदि तपाईं यसलाई साधनको रूपमा प्रयोग गर्न चाहनुहुन्छ भने, पहिलो र मुख्य कुरा भनेको तपाईंले शरीरसँग पहिचान जोड्न बन्द गर्नुपर्छ । तपाईंलाई राम्रोसँग थाहा छ कि यो शरीर तपाईंले बाहिरबाट सङ्ग्रह गर्नुभएको हो— यो भोजनको थुप्रो हो । तपाईंले जे–जति जम्मा गर्नुभएको छ, त्यसलाई कसरी ‘म’ भन्न सक्नुहुन्छ? तपाईंले जे–जति जम्मा गर्नुभएको छ, केही समयको लागि त्यो तपाईंको हुन सक्छ, तर त्यो कहिल्यै तपाईं हुन सक्दैन।

मानव शरीर यति चमत्कारपूर्ण छ कि यदि तपाईंले यसलाई एउटा जीवन–कालमै जान्ने कोशिस गर्नुभयो भने, यसको लागि थुप्रै कुराहरू गर्नुपर्ने हुन्छ। तर, कुनै न कुनै रूपमा मानिसहरू आफ्नो शरीरसँग यति गहिरो रूपमा आशक्त छन् कि उनीहरू शरीरलाई साधनको रूपमा प्रयोग गर्न सक्दैनन्। मानिसहरूमा शरीरसँगको आशक्ति र पहिचान यति गहिरो छ कि उनीहरू शरीरलाई नै ‘आफू’ ठान्छन्। जब तपाईं आफ्नो शरीरलाई ‘म’ भन्नुहुन्छ, यसप्रति विशाल मात्रामा भावना जोडिन्छ । तब हामी शरीरलाई साधनको रूपमा प्रयोग गर्न सक्दैनौँ।

योगमा रहेको भूत–शुद्धि को सम्पूर्ण प्रक्रिया पञ्च–तत्त्वहरूबाट मुक्त हुनको लागि हो। यदि तपाईंले स्पष्ट रूपमा आफू र पाँच तत्त्वहरूबिच दुरी बनाउनुभयो भने, तपाईं र तपाईंको शरीरबिच पनि स्पष्ट दुरी हुनेछ ।

जब तपाईं आफू र आफ्नो शरीरबिच अलिकति स्थान बनाउनुहुन्छ, त्यसबेला तपाईं यस प्रकारको अद्‌भुत मेशीन आफूलाई दिइएको रहेछ भन्ने कुरा जानेर एकदमै आनन्दित बन्नुहुनेछ । तपाईंलाई बन्धनमा पार्ने वा मुक्त गर्ने सम्पूर्ण सामग्रीहरू यही शरीरभित्र छन्। तपाईं यसलाई दिव्य बनाउन सक्नुहुन्छ— तपाईं आफ्नो ऊर्जा प्रणालीलाई यसरी सञ्चालित गर्न सक्नुहुन्छ कि तपाईंको शरीर देवतूल्य (देवता) बन्नेछ। वा, तपाईं लास जसरी रहन सक्नुहुन्छ। हामी भन्ने गर्छौँ— तपाईं आफ्नो शरीरलाई कि त शव बनाउन सक्नुहुन्छ वा शिव बनाउन सक्नुहुन्छ। शव अर्थात् मृत शरीर वा लास । शिव अर्थात् परम–सत्य । यो कुरा तपाईं आफ्नो शरीरसँग के गर्नुहुन्छ भन्नेमा निर्भर गर्दछ। मानव शरीर ती रूपहरूमा समेत काम गर्न सक्दछ भन्नेबारे तपाईंले कहिल्यै कल्पना नै गर्नुभएको छैन।

(सदगुरुको प्रवचनमा आधारित)


प्रतिक्रिया दिनुहोस्