घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले बृद्धबृद्धा खुसी

प्रकाशित मिति : १९ कार्तिक २०७८, शुक्रबार  ९ : १५


अछाम । चैरपाटी गाउँपालिका-५ लुग्राकी ९२ वर्षीया धरु खड्का वडाबाटै सामाजिक सुरक्षा भत्ता बुझ्न पाउँदा दंग छिन्।

पहिले दुई घण्टा हिँडेर सामाजिक सुरक्षा भत्ता बुझ्नु पर्नेमा अहिले वडाबाटै बुझ्न पाउँदा खुसी लागेको खड्काले बताइन्।

वृद्धको सहारा सरकार भए पनि बैंकमा नाता प्रमाणित गरी आफन्तले रकम बुझ्ने गरेका कारण आफूले पाउने सबै रकम नपाउने गरेको उनको भनाई रहेको छ। अहिले बैंकले सबै रकम हातमा दिँदा खुसी भएको उनले बताए।

सारू कुँवर मात्र होइन, गाउँपालिकाको वडा नम्बर ३ सोकटका ९० वर्षीया भाना साउद पनि वडा कार्यालयबाटै भत्ता बुझ्न पाउँदा धेरै खुसी लागेको बताउँछिन्। ‘पहिले भत्ता बुझ्न बैंकमा लाइन लाग्नु पर्थ्यो, घरबाट बैंकसम्म पुग्न तीन घण्टा लाग्थ्यो । गाउँमै पुगेर भत्ता दिँदा साँच्चिकै सिंहदरबार गाउँमा पुगेको अनुभूति गरेका भयो’, साउद भन्छिन्।

गाउँपालिका-४ पायलका ९४ सारू कुँवरले बैंक टाढा भएर जान आउन समस्या भएकोमा अहिले वडामै आएर सामाजिक सुरक्षा भत्ता पाउँदा निकै खुसी भएको अनुभव सुनाए।

भत्ताको रकम बुझ्नकै लागि परिवारको सहायतामा तीन घण्टा पैदलयात्रा गरेर उनी बैंकसम्म पुग्थे। ‘गाउँपालिकाले बैंकका कर्मचारी खटाएर वडाबाट भत्ताको रकम प्रदान गरेपछि निकै खुसी भएकी छ’, उनले भने।

कात्तिक पहिलो साता आएको अविरल वर्षाका कारण गाउँपालिका भित्रका सबै सडक अवरुद्ध भएपछि वडा कार्यालयबाट भत्ता वितरण थालिएको गाउँपालिकाका अध्यक्ष हर्कबहादुर साउदले बताए।

भौगोलिक विकटताका कारण बैंकसम्म पुगेर भत्ता लिन असहज हुने भएपछि गाउँपालिकाले वडाबाट भत्ता वितरण गरेको उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस्