देउसीभैलोबाट प्राप्त रकम विद्यालयमा सहयोग

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहिबार  ८ : २७


काठमाडौं । देउसीभैलो खेलेर ४८ हजार नगद चन्दा सङ्कलन गरिएको छ । बाजुरा जिल्लाको बडिमालिका नगरपालिका–३ रजालीमा रहेको खातीभिटा आधारभूत विद्यालयले उक्त रकम संकलन गरेको हो ।

विद्यालयको आयोजनामा यही कात्तिक ८ देखि कात्तिक ११ गतेसम्म सञ्चालन गरिएको देउसी भैलोबाट चन्दा संकलन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश खड्काले बताउनुभयो ।

देउसी भैलो गौमुल गाउँपालिका–१ र २ र बडिमालिका नगरपालिका वडा–३ मा खेलिएको हो । संकलित रकम विद्यालयको शैक्षिक गुणस्तर माथि उकास्न र अन्य भौतिक विकासमा खर्च गरिने भएको छ । आपसी सद्भाव र भाईचाराको सम्बन्ध स्थापित गर्नुका साथै संस्कृतिको जगेर्ना र मनोरञ्जनका लागि देउसीभैलोको आयोजना गरिएको अध्यक्ष खड्काको भनाई रहेको छ । उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक र अभिभावक लगायतको सहभागिता रहेको थियो ।

यसैबीच सोही वडामा रहेको रजाली युथ क्लव,वडा स्तरीय महिला अधिकार मञ्च,वडा स्तरीय बाल क्लव र चोयाकोट बाल क्लवको आयोजनामा कात्तिक ९ गतेबाट कात्तिक १२ गते सम्म सञ्चालित देउसी भैलो कार्यक्रमबाट २३ हजार ६ सय १० रुपियाँ संकलन भएको छ ।

उक्त संकलित रकमबाट करिब रु १ लाख बराबरको साउण्ड सिष्टम बाल क्लवले खरिद गर्ने लक्ष्य लिएको अध्यक्ष कृष्ण खड्काले बताउनुभयो । उक्त संकलन भएको रकम लक्ष्मी बचत तथा ऋण सहकारी संस्थामा रहेको रजाली युथ क्लवको खातामा रकम जम्मा गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्