रियल म्याड्रिड र इन्टरको जित

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहिबार  ९ : १८


युईएफए च्याम्पियनन्स लिग अन्तर्गत समूह ‘डी’ को खेलमा स्पेनिस क्लब रियल मड्रिड र इटालीयन क्लब इन्टर मिलानले जित हात पारेका छन्।

बुधबार राति भएको खेलमा रियलले फ्रान्सेली फरवार्ड करिम बेन्जेमाको दुई गोल मद्दतमा युक्रेनी क्लब सख्तर डोनस्कलाई २–१ गोल अन्तरले पराजित गर्‍यो।

घरेलु मैदान सान्टियागो बर्नबेउमा रियलको जितमा बेन्जेमाले दुई गोल गर्दा ब्राजिली विंगर भिनिसियस जुनियरले दुई असिस्ट उपलब्ध गराए। साख्तरका फर्नान्डोले एक सान्त्वना गोल फर्काए।

समूह ‘डी’ कै अर्को खेलमा भ्रमणकारी इटालीयन सिरी ए क्लब इन्टर मिलानले माल्डोभाको एफसी सेरिफलाई उसकै मैदानमा ३–१ गोल अन्तरले पराजित गर्‍यो।

इन्टर मिलानको जितमा मार्सेलो ब्रोजोभिक, मिलान स्क्रिनिएर र एलेक्सिस सान्चेजले समान एक एक गोल गरे । सेरिफका एडमा ट्राओरेले एक गोल फर्काए।

जितसँगै समूह ‘डी’ मा ४ खेलबाट ३ जित र १ हार ब्यहोरेको रियल ९ अंकसहित शीर्षस्थानमा छ। इन्टर ४ खेलबाट ७ अंक जोडेर दोस्रो स्थानमा उक्लदा सेरिफ ६ अंक जोडेर तेस्रो स्थानमा छ। पराजित सख्तर १ अंक जोडेर पुछारमा रहेको छ।


प्रतिक्रिया दिनुहोस्