कुटपिटबाट घाइते भएका युवकको उपचारको क्रममा मृत्यु

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहिबार  ७ : ४३


काठमाडौं । बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका–८, भुडकैयामा युवाहरुको कुटपिटबाट घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ ।

स्थानीय युवालाई झगडा नगर्न आग्रह गर्दागर्दै पनि ठाकुरबाबा नगरपालिका–८, भुडकैयाका ३२ वर्षिय सतराम थारुलाई युवाहरुको समूहले कुटपिट गरी घाइते बनाएका थिए । थारुको उपचारका क्रममा भारतको लखनउमा आज मृत्यु भएको इलाका प्रहरी कार्यालय भुरिगाउँले जनाएको छ ।

भाईटीकाको राति युवाहरुको कुटपिटबाट चारजना घाइते भएका थिए । कुटपिटमा संलग्न भएको आरोपमा ठाकुरबाबा नगरपालिका–७, कालीगौडीबाट मुख्य आरोपी सन्त रोकाय र देबी रोकायसहित अहिलेसम्म आठ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । कुटपिटमा संलग्न रहेको आशङ्कामा अरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । केही दिनअघि स्थानीय युवाले अटोरिक्साको भाडाको विषयमा विवाद गरी तोडफोड गरेपछि प्रहरीसमक्ष पुगेका अटोरिक्सा चालकलाई अटोमर्मत खर्च दिलाइएको थियो ।

त्यही युवाको समूहले अटोरिक्सा सञ्चालकलाई खोजी गर्दै गएका बेला झगडा शुरु भएको र झगडा नगर्न आग्रह गर्दागर्दै युवाहरुको समूहले कुटपिटमा उत्रिएको प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस्