UPDATE# प्रहरीको गोलीबाट युवकको ज्यान गएपछि कृष्णनगर तनावग्रस्त

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहिबार  ७ : ०२


कृष्णनगर । कर्फ्यू उल्लंघन गर्नेमाथि प्रहरीले गोली चलाउँदा स्थानीय एक युवाको मृत्युभएपछि कपिलवस्तुमा तनाव सिर्जना भएको छ । 
कर्फ्यू जारी रहँदा प्रदर्शन भएपछि प्रहरीले फायर गरेको थियो । 

प्रदर्शनका क्रममा केही घाइते समेत भएका छन् । प्रदर्शन चर्किएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन आज ३५ राउण्डभन्दा बढी हवाई फायर र लाठीचार्ज गरेको जनाइएको छ ।
स्थानीयले प्रदर्शन जारी राखेका छन् । 

लक्ष्मी पूजाको मूर्ति विसर्जन गर्ने क्रममा स्थानीय समुदायबीच विवाद बढेपछि कृष्णनगरमा जिल्ला प्रशासन कार्यालयले कर्फयू लगाएको छ । 

बुधबार त्यहाँका हिन्दु समुदायले लक्ष्मी पूजाको मूर्ति विसर्जनको क्रममा झडपको सिर्जना उत्पन्न भएको थियो । कृष्णनगरका सामाजिक अगुवा कृष्ण कुमार गुप्ताका अनुसार हिन्दु समुदायले मूर्ती विसर्जन गर्ने बेला एक जना मुस्लिम समुदायका युवाले रोक्न खोज्दा झडपको स्थिती सिर्जना भएको थियो । 

हिन्दु र मुस्लिम समुदायबीच मनमुटाव बढपछि समझदारी कायम गर्नका लागि थालिएका विभिन्न पहल असफल भएपछि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले अनिश्चितकालका लागि कर्फयू जारी गरेको हो ।

प्रशासनले विहान ११ बजे देखि अर्को आदेश नभएसम्मका लागि कर्फयू जारी गरेको छ । कर्फयू कृष्णनगर भन्सार कार्यालय देखि उत्तर तर्फ ७ सय मिटर, पश्चिम तर्फ ७ सय मिटर र पूर्व तर्फ ३ सय मिटर क्षेत्रमा कर्फयू जारी गरिएको प्रशासनद्धारा जानकारी दिइएको छ ।

गत बर्षपनि कृष्णनगरमा दुर्गा पूजाको मूर्ती विसर्जनका बेला यस्तै कफ्र्यु जारी गरिएको थियो । बेला बेला कृष्णनगर क्षेत्रमा हिन्दु र मुस्लिम समुदायबीच तनाव हुँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्