बादी महिलामा समर्पित वृत्तचित्र ‘निलो आकाश’

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  १० : ३५


काठमाडौँ । नेपाली मूलधारका चलचित्रमा आमरूपमा खलनायकविरूद्ध नायकत्वका कथानक चरित्र प्रस्तुत गरिन्छ । फरकधारमा बनेका चलचित्रले पनि विषयवस्तुमाथि गहन खोज, अनुसन्धान र उत्खनन नगरेको टिप्पणी आउने गरेका बेला समाजमा लुकेको यथार्थलाई खोज र अध्ययनका माध्यमबाट चलचित्रमा उतार्ने पहल पनि भएका छन् ।

चलचित्रमा असफलताविरूद्ध सफलता, असमानताविरूद्ध समानता र खराबविरूद्ध असलको जीत प्रस्तुत गरिने परम्परालाई तोड्दै गत साता चलचित्र विकास बोर्डको हलमा देखाइएको नेपाली वृत्तचित्र (फिल्म) ‘निलो आकाश’ले नयाँपन प्रस्तुत गरेको छ । लव प्याकुरेलको सम्पादन र निर्देशनमा पाँच वर्षअघि निर्माण गरिएको उक्त वृत्तचित्रमा केही विषय र पात्रलाई परिमार्जनसहित प्रस्तुत गरिएको छ । नेपाली चलचित्रमा परम्परागत शैलीभन्दा भिन्न सिर्जनशील दृष्टिकोणयुक्त सो वृत्तचित्रले आमकथालाई आफ्नो कथावाचन शैली र प्रस्तुतीकरण गरेको छ ।

निर्देशक प्याकुरेलले निर्माण गरेका वृत्तचित्र प्रायः सामाजिक र यथार्थपरक हुन्छन् । प्याकुरेलको हालसम्म ‘पञ्चायतको घाऊ’, ‘उधिनिएको प्रथा’, ‘ओडारका मान्छेहरू’, ‘बिर्सिइएका महिलाहरू’, ‘धुलोको मूल्य’, ‘शेर्पाः सगरमाथाका वास्तविक नायकहरू’, ‘वर्गसत्ता’, ‘सगरमाथाको प्रतिबिम्ब’ लगायतका वृत्तचित्र छन् । ती वृत्तचित्र सामाजिक विभेद, असमानता र उत्पीडनविरूद्ध निर्भिकतापूर्वक उभिएका पाइन्छन् । वर्ण व्यवस्था, जातिवाद, हिन्दूकेन्द्रित धार्मिक राजनीति, संस्कार–संस्कृति, नश्लवाद एवं कट्टरपन्थी शासकीय विचार र शैलीविरूद्ध प्रस्तुति दिइएको छ ।

कूल ४५ मिनेटको वृत्तचित्र ‘निलो आकाश’ मा समावेश गरिएका अधिकांश पात्र महिला छन्, जो कुनै न कुनै समय यौन पेशामा संलग्न थिए । वृत्तचित्रका एक पात्र (महिला)को कथन छ, “मलाई पहिलो लोग्नेले यौनइच्छा पूरा नभएको भन्दै छाडिदिए, दोस्रोसँग आएपछि झनै झमेलामा छु । यिनले त झन धेरैको यौन प्यास मेटाउने साधन पो बनाए ।” दोस्रो विवाह गरेकी ती महिलाले भनिन्, “अब के गरौँ ? कति जनासँग विवाह गर्दै हिँडौँ ? के म यौनदासी नै हुँ त ?”

नेपालमा देह व्यापारमाथि चर्को बहस भइरहेको छ । मानव बेचबिखनविरूद्ध राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरकारी तथा गैरसरकारी सङ्घसंस्थाले राम्रै आर्थिक सहयोग गरेका छन् र विभिन्न अभियान सञ्चालन भइरहेका छन् । नारीमाथि भइरहेको चर्को शोषणका साथसाथै मानव बेचबिखनविरूद्ध प्रयोग भएको धनराशिको दुरूपयोगबारे पनि यसले गहन खुलासा गरेको छ ।

“ती आडम्बरी पुरूष सत्ता जसले नारीलाई देहव्यापारको माध्यम बनाएका छन्, सामाजिक अन्तर्विरोधको घोर दुरूपयोगद्वारा आर्थिक लाभ लिन लालायित पुरूषको स्खलित पक्षमाथि मैले वृत्तचित्रमा चर्चा गरेको छु । यो वृत्तचित्रलाई बादी महिलामा समर्पित गरेको छु ।” वृत्तचित्रबारे निर्देशक प्याकुरेल भन्छन्, “जसले महिला वा श्रीमती तथा छोरी, बुहारीलाई यौनदासीको रूपमा उपभोग गर्दैछन् । ती मानिस या त पित्तृसत्ताको उपज हुन् या विकार मानसिकताका शिकार भएका छन् । जसले गर्दा सामाजिक मनोभाव र पितृसत्ताको जञ्जिरलाई तोड्न नसक्दा दिनानुदिन दुरूस्साहन बढिरहेको छ । यसको तथ्य र तथ्याङ्क वृत्तचित्रमा देखाइएको छ ।”

वृत्तचित्रले एकातिर विषयवस्तुको वास्तविकतालाई सरल र स्पष्टरूपमा पस्किएको छ भने अर्कातिर प्रयोगात्मक र साङ्केतिक बिम्बहरूबाट कथालाई भनिदिएको छ । एक अर्धकदको पुरूष एक महिलाको कोखबाट जन्म भएको दृश्यलाई नाटकीय स्वरूपबाट अर्थपूर्णरूपमा प्रस्तुत गर्नसक्नु निर्देशकको कला मान्नुपर्छ । उक्त चलचित्रमा तीन प्रकारले पात्रको स्थिति प्रष्ट्याएको छ । पूर्ण स्याडो, अर्ध स्याडो र उज्यालो परिवेश आधारित दृश्य छायाङ्कन गरिएकाले व्यक्ति पहिचानको स्वतन्त्रताको कदर भएको छ । वृत्तचित्रमा धेरै स्थानमा बिम्ब र सङ्केतको प्रयोग भएको छ र यसलाई अत्यन्त उत्तम तरिकाबाट देखाइएको छ । नारी देह व्यापारका लागि तयार हुने पुरूष वा पतिको अनियन्त्रित स्थितिमाथि दर्शाइएको दृश्यभाव असाधारण छ ।

वृत्तचित्रको कथा भन्ने शैली बेग्लै छ । यहाँ एक पुरूष (श्रीमान)ले आफ्नो यौन दृष्टिकोणमा कथावाचन गर्छ र यसलाई बिम्बको माध्यमबाट देखाइएको छ । क्रमशः पात्र, प्रवृत्ति र दृष्टिकोण खुल्दै जान्छ र कथित पुरूषत्वमाथि गतिलो प्रहार गरिएको छ । प्रकाश सिलवाल/रासस


प्रतिक्रिया दिनुहोस्