आजै कुकुर तिहार पनि मनाइदै

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  १० : १०


यमपञ्चकको दोस्रो दिन अर्थात कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुर तिहार मनाइन्छ। आजै त्रयोदशी र चतुर्दशी परेकोले कुकुर तिहार पनि मनाइदै छ।

आज बिहान ९ बजेर २२ मिनेटसम्म त्रयोदशी तिथि र त्यसपछि चतुर्दशी रहेको छ। ९ बजेर २२ मिनेटसम्म काग पूजा र त्यपछि कुकुर पूजा गर्नु पर्नेछ।

कात्तिक कृष्ण चतुर्दशीका दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । यसदिन नजिकैको नदी वा पोखरीमा गएर स्नान, तर्पण गरी दक्षिण दिशातर्फ फर्काएर बत्ती बालेर बगाउने गरिन्छ । यसो गर्दा मृत्युपछि नरकको यात्रा गर्नु नपर्ने धार्मिक विश्वास छ।

कुकुर तिहारका दिन कुकुरलाई मन पर्ने खाना खान दिएर फूलमाला लगाइ पूजा गरिन्छ। कुकुरलाई पनि यमदूतको रूप मानिन्छ । कुकुरलाई भैरवको बाहन पनि भनिन्छ।

कुकुर आज्ञापालक जनवार हो । घरको रेखदेखदेखि भेडाबाख्रा र घरपालुवा जनवारको सुरक्षामा समेत कुकुरलाई प्रयोग गरिँदै आइएको छ । संसारमा सबैभन्दा बढी घरपालुको रुपमा समेत कुकुर रहेको छ।

प्राकृतिक प्रकोप जस्तैं भूकम्प, पहिरो आउनुपूर्व कुकुरलाई सूचना हुने विश्वास छ । साथै यो विश्वासलाई वैज्ञानिकहरूले समेत पुष्टि गरिसकेका छन् । कुुकुरको महत्वलाई धार्मिकशास्त्रसँग जोडेर हेर्दा पाण्डवहरू स्वर्ग जाने बेलामा युधिष्ठिरले कुकुरलाई पनि सँगै लिएर गएको कथा महाभारतमा उल्लेख छ।

तिहारको अन्तिम दिन अर्थात कात्तिक शुक्ल द्वितीयाका दिन दिदीबहिनीले दाजुभाईलाई दीर्घायुको कामना गर्दै सप्तरङ्गी टीका लगाएर भाईटीका मनाउने गरिन्छ।


प्रतिक्रिया दिनुहोस्