ओमान विश्वकपमा छनोट

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


एजेन्सी । ओमान अर्को वर्ष अष्ट्रेलियामा हुने आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा छनोट भएको छ ।

यूएईमा जारी ग्लोबल छनोटको इलिमिनेटरमा हङकङलाई १२ रनले पराजित गर्दै ओमान विश्वकपमा छनोट भएको हो ।

दुबईमा ओमानले दिएको १ सय ३४ रनको लक्ष्य पछ्याएको हङकङले २० ओभरमा ९ विकेट गुमाएर १ सय २२ रन मात्र बनाउन सक्यो ।

हङकङका लागि स्कटले सर्वाधिक ४४ रन जोडेपनि टिमलाई जित दिलाउन सकेनन् ।
हङकङलाई सस्तैमा समेट्न ओमानका बिलाल खानले ४ विकेट लिए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ७० ओभरमा ७ विकेट गुमाएर १ सय ३४ रन बनाएको थियो ।

ओमान ग्लोबल छनोटबाट विश्वकपमा छनोट हुने छैटौं तथा अन्तिम टिम बनेको छ । ओमान दोस्रो पटक विश्वकपमा छनोट भएको हो ।

 यसअघि स्कटल्याण्ड, नामिबिया, नेदरल्याण्ड, आयरल्याण्ड र पपुवा न्यु गिनी पीएनजीले विश्वकपमा स्थान बनाएका थिए ।

यूएईमा सम्पन्न छनोटबाट ६ टिमले विश्वकपमा स्थान बनाएसँगै अर्को वर्ष हुने विश्वकपमा सहभागी १६ टिमको टुंगो लागेको छ ।


प्रतिक्रिया दिनुहोस्