तरकारी हाटमा फूलको बजार

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  ८ : ३९


ताप्लेजुङ। ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा साताको एक दिन लाग्दै आएको मंगलबारे हाटमा विगतका दिनहरूमा सागसब्जी तथा तरकारीजन्य वस्तुहरूको खरिद-बिक्री हुने गर्थ्यो।

सधैँ तरकारीजन्य वस्तुले भरिभराउ हुने हाट आज मंगलबार भने फूलले बजार ढाकेको थियो । बजार फूलले ढकमक्क बनेको थियो।

फुङ्लिङ नगरपालिका-२ तारेबुङका किसान केशव बराल प्रत्येक साता तरकारीजन्य वस्तु बिक्री गर्न ल्याउँथे तर उनले वर्षको एक दिन भने फूलको व्यापार गर्छन् । उनले गत साता तरकारी बिक्री गर्न ल्याएका थिए तर आज (मंगलबार )भने फूल मात्र बिक्री गर्न ल्याएको थियो ।

बरालले विगत तीन वर्षदेखि तिहारको समयमा फूलको राम्रो व्यापार गर्दै आएको छ। उनले भने, ‘विगत चार वर्ष अगाडि हाटमा फूलको व्यापार हुँदैनथ्यो । तर, तीन वर्षयता तिहारको समयमा हाटमा फूलको व्यापार हुन थालेको छ।’

व्यावसायिक रूपमा भने फूल खेती नगरे पनि तरकारी बारीको छेउछेउमा फूल रोप्ने गरेको बरालले बताउनुभयो । उनले भने, ‘फूल रोप्नु र हुर्काउनु धेरै फाइदा छ । फूलले वातावारमा सौन्दर्य प्रदान गर्छ

साथै, तरकारी बारीमा फूल रोपियो भने तरकारी बालीमा कीरा लाग्दैन र बिषादीको प्रयोग गर्नुपर्दैन।’ बिषादीको प्रयोग नगरिएपछि तरकारी स्वास्थ्यका लागि राम्रो हुने बरालले बताए । ताप्लेजुङमा पछिल्लो समय फूल राम्रो आम्दानीको स्रोत बन्दै गएको बरालको भनाइ छ ।

फुङ्लिङ नगरपालिका-८ की सोनु लिम्बूले फुङ्लिङमा तरकारी बिक्री गर्न ल्याउँदा दिनभर बजारमा ग्राहक कुर्दै बस्नुपरेको बताइन् । तर, मंगलबार भने उनले तरकारी बिक्री गर्न नल्याएर फूल मात्र बिक्रीका लागि लिएर आइन् । उनी बजार आइपुगेको करिब दुई घण्टाभित्र आफूले लिएर आएको फूल सबै बिक्री भयो । उनले भनिन्, ‘विगतमा हिन्दु समुदायले मात्र तिहारमा धेरै फूल प्रयोग गरेका थिए । अहिले सबै समुदायले तिहारमा फूल प्रयोग गर्न थालेका छन् । त्यसैले प्रत्येक वर्ष फूलको माग बढ्दै गएको छ।’

ताप्लेजुङमा व्यावसायिक रूपमा फूल खेती विस्तार भने भएको छैन । किसानले तरकारी बारीको कान्ला र घरको छेउछेउमा अलिअलि रोप्दै आएका छन् ।

ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा सयपत्री फूल प्रतिमुठा १०० रुपैयाँमा खरिद(बिक्री हुने गरेको छ । मखमली फूल १०० देखि १५० रुपैयाँसम्म प्रतिमुठा खरिद/बिक्री हुने गरेको छ ।


प्रतिक्रिया दिनुहोस्