प्रधानमन्त्री ओली बिहिबारसम्म ग्राण्डीमै रहने

प्रकाशित मिति : १३ कार्तिक २०७६, बुधबार  १ : ०२


काठमाडौं । बिरामी भएपछि बुधबार बिहान ९ बजे धापासी स्थित ग्राण्डी अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली बिहीबारसम्‍म अस्पतालमै रहनुहुने भएको छ । 

सबै परीक्षणको रिपोर्ट आउन बाँकी रहेकाले आज राति अस्पतालमै रहने उहाँको निजी सचिवालयले जनाएको छ ।

चिकित्सकहरुले समेत बिहीबारसम्म अस्पतालमै बसेर आराम गर्न सल्लाह दिएका छन् । बिहीबार बिहानसम्म अस्पतालमै राखेर थप परीक्षण गर्दा राम्रो हुने सल्लाह चिकित्सकको छ । 

प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सकहरुले स्वास्थ्य परीक्षणको रिपोर्ट विश्लेषण गरिरहेको जनाएको छ ।

स्वास्थ्यमा समस्या आएपछि उहाँलाई अस्पताल लगेदेखि नै अति सघन उपचार कक्ष (आइसियू)मा राखेर उपचार भइरहेको छ। 

प्रधानमन्‍त्रीमा ज्वरोसँगै अरु समस्या पनि देखिएको छ। 

प्रधानमन्त्री ओलीको १२ वर्ष अगाडि २०६४ सालमा भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । 

भदौंको पहिलो हप्ता प्रधानमन्त्री ओलीको सिंगापुरमा प्लाज्माफेरेसिस गराइएको थियो । त्यही क्रममा दुई हप्ता उहाँ सिंगापुरमै बस्नु भएको थियो ।

 


प्रतिक्रिया दिनुहोस्