चिलीमा विरोध प्रदर्शन जारी, २० को मृत्यु

प्रकाशित मिति : १३ कार्तिक २०७६, बुधबार  १२ : २२


सान्टियागो ।  चिलीमा जारी विरोध प्रदर्शनका क्रममा कम्तीमा २० जनाको मृत्यु भएको छ ।

गत अक्टोबर १९ देखि २७ सम्म आपतकाल लागू भएको यस समयावधिमा जारी रहेको सरकार विरोधी प्रदर्शनमा कम्तीका २० व्यक्तिको मृत्यु हुनुका साथै अन्य ४ सय ७३ व्यक्ति घाइते भएका गृह मन्त्रालयद्वारा मङ्गलबार जारी विज्ञप्तिमा उल्लेख छ । 

यस विरोध प्रदर्शनको क्रममा सयौंको सङ्ख्यामा सशस्त्र प्रहरीहरु पनि घाइते भएका छन् ।

 उक्त समयावधिमा ४ सय ४५ प्रहरीका कार, ४९ उपमार्ग स्टेशन र २६ बस क्षतिग्रस्त भएको छ ।

कफ्र्यु लगाइएको यस अवस्थामा ७ हजार  १६६ व्यक्तिलाई पक्राउ गरिएको र २ हजार ३७ व्यक्तिलाई कारागार चलान गरिएको छ । 

गत सोमबार चिलीका राष्ट्रपति सेबास्टियन पिनेराले सरकारको विरोधको प्रदर्शन गरिरहेका प्रदर्शनकारीको मागको सम्बोधन गर्दै आठ जना मन्त्रीलाई प्रतिस्थापन गर्नु भएको थियो ।

सार्वजनिक यातायातको भाडा बढाइएपछि विद्यार्थीले यो प्रदर्शन शुरु गरेका थिए । 


प्रतिक्रिया दिनुहोस्