बँदेल मार्न थापेको पासोमा आफ्नै साथी परे, गाडिएको अवस्थामा शव फेला

प्रकाशित मिति : १३ कार्तिक २०७६, बुधबार  १० : ३०


सप्तरी । सप्तरीमा बँदेलको सिकार गर्न ७/८ जना साथीहरुको समूहमा जंगल गएका एक युवक मृत भेटिएका छन् ।

कञ्चनरुप नगरपालिका वडा नम्बर ५ प्रिपाका २३ वर्षीय अजयकुमार मुखियाको शव त्रियुगा नदीको किनारमा गाडिएको अवस्थामा भेटिएको छ ।

मुखियाको हत्या भएको भन्दै परिवारले गरेको जाहेरीका आधारमा प्रहरीले दुई जनालाई बुधबार नियन्त्रणमा लिएको छ ।

परिवारले किटानी जाहेरी दिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।

अनुसन्धानमा बँदेल मार्न साथीहरुले थापेको पासोमा मुखीया परेको खुलासा भएको हो ।

सिकार खेल्ने क्रममा जंगली जनावरका लागि थापेको करेन्टको पासोमा परेर अजयको मृत्यु भएको प्रहरीले जनाएको छ।

मुखियाको मृत्यु भएपछि संलग्न व्यक्तिहरुले घटना दबाउ नदीमा गाडिदिएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ।

कात्तिक १ गते भएको घटनामा संलग्न अन्य केही व्यक्ति फरार रहेकाले थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

मुखीयाको शव नदि किनारमा भेटिएको हो । करेन्ट लागेकामध्ये एक जना बचे पनि अजयको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

अजयको मृत्युपछि सहमतिमै शव त्यही गाडेर सबै फरार भएको पक्राउ परेकाले प्रहरीसँग बयान दिएका छन् । 


प्रतिक्रिया दिनुहोस्