विषादीरिहत तरकारी खेतीका लागि सीप सिक्दै किसान

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  १० : ३७


नुवाकोट। “हामीले तरकारी खेती त गर्दै आएका थियौँ तर किराले बाली भुसुक्कै पाथ्र्यो । किरा थाम्ने उपाय बल्ल थाहा पाइयो”, प्राङ्गारिक खेती र खानायोग्य उत्पादनबारे दुईदिने तालिम लिएपछि बेलकोटगढी नगरपालिका–११ का जयनारायण मुडभरीले भन्नुभयो, “अब पहिलाभन्दा बढी उत्पादन गर्न सकिन्छ भन्ने आँट आएको छ ।”

मुलुकका ६० भन्दा बढी जिल्लाका चार सय बढी कृषि फार्ममा लामो समयदेखि तरकारी खेतीमा परामर्श दिँदै आएका भक्तपुरका शिव यन्द्योले स्थानीय किसानलाई सैद्धान्तिक र व्यवहारिक ज्ञान तथा अनुभव बाँडेपछि किसान उत्साहित छन् । ती गाउँस्थित कँडेल कृषि फार्मका सञ्चालक गोपी कँडेल र दाङ्मैस्थित सिड्स पर्माकल्चरका सञ्चालक किशोरी लोहनीको पहल तथा नगरपालिकाको सहयोगमा पालिकाको वडा नं ११ मा आयोजित तालिममा उन्नत मलखादको उत्पादन र प्रयोग, आधुनिक नर्सरीको निर्माण, विषादीरहित तरकारी उत्पादन, व्यावसायिक उत्पादन र बजारबारे प्रस्तुतिकरण गरिएको थियो ।

‘व्यावसायिक गोलभेँडा खेती’ पुस्तक लेखेका र आफ्नै सहकारीमार्फत वार्षिक करोडौँ रुपैयाँको तरकारी उत्पादन र व्यापार गराएको अनुभव भएका ‘सेफ फुड’का अभियानकर्मी यन्द्योलाई किसानले समय कम भएका कारण कुरिलो, च्याउलगायत खेतीबारे आफ्ना सबै जिज्ञाषा भने मेटाउन पाएनन्।

सरकारी निकाय कृषि ज्ञान केन्द्रबाट खासै तालिम र सहयोग नपाएको गुनासो गर्ने स्थानीय किसानले यस्ता विज्ञलाई भेट्दा धेरै खुल्दुली हुनु स्वभाविक हो। विज्ञ यन्द्योले टेलिफोन र अनलाइन माध्यमबाट पनि किसानलाई परामर्श दिँदै आउनुभएको छ । विषादीरिहत उत्पादन गर्ने किसानले उनीहरुकै मूल्यमा बजारमा उत्पादन दिन सक्ने स्थिति छ ।

नगरपालिकाका कृषि प्राविधिक तथा तालिमका सहभागी सम्झना कँडेलले यन्द्योको तालिम प्रभावकारी भएकाले यसलाई आफूहरुले थप विस्तार गर्ने बताउनुभयो । नगरपालिकाका प्रमुख राजेन्द्ररमण खनालले यस्ता तालिममा पालिकाको तर्फबाट पनि सहयोग हुने उल्लेख गर्दै रासायनिक मलले केही वर्षपछि जमिन नै मरुभूमिमा परिणत हुने खतरा आएका बेला प्राङ्गारिक अभियान सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

तालिममा तरकारी खेतीका नर्सरीदेखि नै रासायनिक मल र माटोको प्रयोग नगरी बीउ उत्पादन गर्न सिकाइएको थियो । प्लाष्टिक ट्रेमा कम्याट ९व्याक्टेरियम०, पोटासियम, गड्यौले मल र कोकोपिट मात्राअनुसार मिसाएर त्यसका बीउ राखेमा बीउमा कुनै रोग नलाग्ने हुन्छ । बेर्ना रोपेपछि झोल मल प्रयोग गरेर त्यसलाई हुर्काउन सकिन्छ ।

तरकारीमा फेद कुहिने, अगौटा डढुवा, पछौटे डढुवा, सेतो ढुसी, साउथन ब्लाइट, लिफ मोल्डलगायत रोग लाग्ने भएकाले त्यसको कसरी उपचार गर्ने भन्ने विधि पनि किसानले थाहा पाएका छन्। पासाङल्हामु मार्गको सडक निर्माण नभइसकेकाले यहाँका किसानको उत्पादनलाई सहजरूपमा काठमाडौँ लान नसकिने गुनासो छ।

महत्वपूर्ण व्यावसायिक व्यक्ति (सिआइपी) सम्मान प्राप्त व्यवसायी कँडेलले किसानलाई ज्ञान र सीपमा पोख्त बनाएर उनीहरुको मेहेनतअनुसारको प्रतिफल आओस् र स्वरोजगारबाटै धनी होऊन् भन्ने आफूहरुको भावना रहेको बताउनुभयो । त्यसका लागि आफूले व्यक्तिगत सहयोगको क्रमलाई निरन्तरता दिने उहाँको भनाइ छ । प्राङ्गारिक कृषि विज्ञसमेत रहेका किशोर लोहनीले धेरै समयको प्रयासपछि यन्द्योजस्ता विज्ञलाई गाउँमा ल्याउन सकिएको र अब स्थानीय किसानले गरिखान सक्ने विश्वास बढेको बताउनुभयो । सरकारले कृषिका लागि अनुदान पनि दिन थालेकाले गाउँ–गाउँमा व्यावसायिक खेतीको क्रम भने बढ्दो छ। रासस


प्रतिक्रिया दिनुहोस्