कोप-२६ मा प्रधानमन्त्री देउवाले भने-‘तापक्रम वृद्धि हाम्रो अस्तित्वको मुद्दा हो’

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  ९ : १०


प्रधानमन्त्री शेरबहादुर देउवाले जलवायुजन्य प्रकोपबाट भइरहेको क्षति प्रमुख चिन्ताको विषय बनेको बताएका छन्।

ग्लासगोमा जलवायु परिवर्तनसम्बन्धी शिखर सम्मेलन अर्थात कोप-२६ लाई सम्बोधन गर्दै देउवले भने, ‘हामी कोपका पक्ष राष्ट्रलाई आह्वान गर्छौँ कि जलवायु परिवर्तनसँग जुध्न अतिरिक्त वित्त पोषणको ढाँचालाई समर्थन गर्न र क्षति गर्न सहमत हुन हुनुहोस्।’

देउवाले विश्वको औसत तापक्रम वृद्धि १.५ डिग्री सेल्सियसभन्दा कममा राख्नु हिमाली जनताका लागि अत्यावश्यक रहेको बताए।

‘यो हाम्रो अस्तित्वको मुद्दा हो’, उनले भने।

सन् २०१५ मा पेरिसमा भएको जलवायुसम्बन्धी शिखर सम्मेलनले सन् २०३० भित्र यो लक्ष्य पूरा गर्ने घोषणा गरे पनि औद्योगिक राष्ट्र नै उदासिन छन्।

सन् २०५० भित्र कार्बन उत्सर्जन शून्यमा झार्ने लक्ष्य लिइएको छ। जसलाई नेट जिरो भनिएको छ।

नेपालले भने सन् २०४५ भित्र नै नेट जिरोको लक्ष्य लिएको छ भने भारतले यो लक्ष्य २०६० मा मात्र पूरा गर्न सकिने बताएको छ।

प्रधानमन्त्री देउवाले उच्च हिमालको विशिष्ट जलवायु जोखिम पहिचान गर्न र जलवायु सम्बन्धी सबै वार्तामा हिमाली क्षेत्रका एजेन्डालाई उच्च प्राथमिकता दिन विश्वका नेतालाई आग्रह गरे।


प्रतिक्रिया दिनुहोस्