ब्रिटेन लरी मृत्यु प्रकरण : प्रहरीले खोज्दै छ यी दुई दाजुभाइलाई

प्रकाशित मिति : १३ कार्तिक २०७६, बुधबार  ६ : ५६


बीबीसी । ब्रिटेनको एसिक्समा गत साता एउटा लरीमा ३९ वटा शव भेटिएपछि हत्याको शङ्कामा प्रहरीले दुई दाजुभाइको खोजी गरिरहेको छ । ४० वर्षीय रोनन ह्युज तथा ३४ वर्षीय क्रिस्टोफर ह्युज उत्तरी आयरल्याण्डको आर्मागका हुन् । उनीहरूमाथि मानव तस्करीको शङ्का पनि गरिएको छ ।

गत बुधवार एसिक्सको एक औद्योगिक क्षेत्रमा एउटा लरीको कन्टेनरमा ३९ जनाको शव भेटिएको थियो । ती ह्युज दाजुभाइ उत्तरी आयरल्याण्डमा भएको हुन सक्ने प्रहरीको विश्वास छ । तर उनीहरूको सम्बन्ध आइरिश गणतन्त्रसँग पनि रहेको ठानिएको छ ।

लरीका ड्राइभर मोरिस रबिन्सन पनि उत्तरी आयरल्याण्डकै हुन् । सोमवार अदालतमा प्रस्तुत गरिएका उनीविरुद्ध हत्यासम्बन्धी विभिन्न ३९ अभियोग लगाइएका छन् ।

प्रहरी अधिकारी स्टुआर्ट हुपरले भने, ‘ह्युज दाजुभाइलाई भेट्टाएर सोधपूछ गर्नु यस अनुसन्धानको निम्ति अति आवश्यक छ ।’ ‘यो घटनामा ३९ जना महिला तथा पुरुषको पीडादायी मृत्यु भएको छ ।  जिम्मेदारहरूलाई कानूनको दायरमा ल्याउन समुदायको सहयोग महत्त्वपूर्ण रहनेछ ।’

प्रहरीले ती दाजुभाइबारे कुनै पनि सूचना हुने व्यक्तिलाई आफूहरूसँग सम्पर्क गर्न आह्वान गरेको छ । सो घटनालाई लिएर अन्य तीन जना पक्राउ परेका थिए ।

पक्राउ परेका एकजना ३८ वर्षीय पुरुष, एकजना ३८ वर्षीया महिला तथा एकजना ४६ वर्षीय पुरुष, सबैजना हाल जमानतमा रिहा भएका छन् । सुरुमा प्रहरीले मृतक ३१ पुरुष तथा ८ महिला चिनियाँ भएको हुनसक्ने बताएको थियो ।

तर कैयौँ भियतनामी परिवारहरूले आफ्ना सदस्य हराइरहेको जानकारी दिँदै ती मृतकहरूमा आफूहरूका आफन्त पनि रहेको हुनसक्ने बताए । भियतनामी सरकारी सूत्रहरूले बीबीसीलाई जनाए अनुसार त्यहाँका राष्ट्रिय तथा प्रान्तीय प्रहरी विभागका अधिकारीहरू ब्रिटिश प्रहरीलाई अनुसन्धानमा सघाउन यूके जान तयार छन् ।

भियतनामी प्रहरीले शङ्कास्पद पीडितका परिवारजनको डिएनएको नमूना सङ्कलन गरिरहेको छ । त्यसले पीडितको पहिचानमा सघाउ पुग्ने ठानिएको छ ।


प्रतिक्रिया दिनुहोस्