न्यायाधीशको इमेलले सेटिङ पुष्टि गर्‍यो, सत्य भण्डाफोर भयोः ओली

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ५ : ५३


काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले न्यायाधीशहरुको तमासाले अदालतमा सेटिङ पुष्टि भएको तर्क गरेका छन्।

एमाले भरतपुर नगर कमिटीको प्रथम नगर अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अदालतमा सेटिङ गरेर परमादेश आएको कुरा न्यायाधीशहरु आफैले भण्डाफोर गरेको बताए।

‘जालझेल, सेटिङ, तिकडम गरेर, अदालत मिलाएर, मिलाएको रहेछ भन्ने त एक पछि अर्को न्यायाधीशहरु आफैं भन्न थाले। बकपत्र सुरु भयो। अमेरिकाबाट इमेल पठाए। पढ्दा पढ्दै, पढिनसक्दै चुपचुप, बन्द गर, बन्द गर भनेर तमासा गरेका छन्। बन्द गर, बन्द गर। रोक, रोक’ उनले भने,‘न्यायाधीशको इमेल के के न होला भनेर पढ्दा पढ्दै छोप्नुपर्‍यो। बन्द गर, बन्द गर। रोक, रोक। यो सत्य बाहिर जाँदा त के के पो निस्किने हो, भण्डाफोर भयो। आधामै रोकायो। चौथाईमै रोकायो। के हालत छ?’

प्रतिक्रियावादीहरुले यस्ता खालका चाहिने नचाहिने क्रियाकलाप गर्ने उनको भनाइ छ। ‘यिनीहरुले जनताको शक्तिलाई लल्कार्ने कुरा गर्छन्। अमेरिकाबाट लेखिएको इमेल के भन्छ, एकदम खतरनाक शक्ति अगाडि बढेका हुनाले सरकारबाट खसाल्नै पर्छ। संवैधानिक ढंगले जान सकिएन। त्यसकारण असंवैधानिक ढंगले जानुपर्‍यो’ उनले भने।

एमालेलाई सरकारबाट ढाल्न कुनै संवैधानिक बाटोबाट सम्भव नभएको, एमाले फुटाउन संवैधानिक बाटो नभएकाले जालझेल गरिएको उनको आरोप थियो। ‘४० लाई २० प्रतिशत झारियो। र लाई वा मा झारेर, संसद बन्द गरेर, हामीले निष्काशन गरेका, कारवाही गरेकालाई कायम राखेर, बलजफ्ती, संविधानको धज्जी उडाएर, मर्यादित संस्थाहरुको हुर्मत लिएर एमालेलाई परमादेशबाट हटाइयो’ उनले भने,‘किनभने कुनै वैधानिक र सहि बाटोबाट एमालेलाई सकिँदै सकिँदैन। त्यसकारण गलत बाटोबाट परमादेशबाट हटाइयो। एमालेसँग अगाडिबाट लड्ने हिम्मत छैन। त्यसकारण पछाडिबाट झुक्याएर परमादेशबाट हटाइयो। परमादेश भनेको त झुक्याएर असंवैधानिक ढंगबाट पछाडिबाट हान्ने रहेछ।’


प्रतिक्रिया दिनुहोस्