भारतको लगातार दोस्रो हार, न्युजिल्यान्डको सेमिफाइनल यात्रा बलियो

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ७ : ०६


उपाधी दाबेदार भारत आईसीसी टी-२० विश्वकप क्रिकेटमा लगातार दोस्रो हार ब्यहोरेको छ।

आइतबार सुपर-१२ को समूह-२ को खेलमा भारत न्युजिल्यान्डसँग ८ विकेटले पराजित भएको हो । योसँगै भारतको सेमिफाइनलमा यात्रा कमजोर भएको छ । न्युजिल्यान्डले भने सेमिफाइनल यात्रा बलियो बनाएको छ।

जितका लागि १११ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले १४ ओभर ३ बलमा पूरा गर्‍यो। न्युजिल्यान्डका ओपनर डर्याल मिचेलले सर्वाधिक ४९ रनको योगदान दिए । कप्तान केन विलियम्सन ३३ रनमा अविजित रहे।

यसअघि दुबईमा टस हारेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११० रन मात्र बनायो। रविन्द्र जडेजाले सर्वाधिक २६ रनको योगदान दिए । हार्दिक पान्ड्याले २३ रन बनाए । अन्य कुनै पनि खेलाडी क्रिजमा चल्न सकेनन्।

न्युजिल्यान्डका तीव्र गतिका बलर ट्रेन्ट बोल्टले ३ विकेट लिए । स्पिनर ईश सोधीले २ विकेट लिए।

भारत पहिलो खेलमा पाकिस्तानसँग १० विकेटले पराजित भएको थियो।

सुपर-१२ को समूह-२ मा पाकिस्तान ३ खेलमा ३ जितका साथ ६ अंकसहित शीर्ष स्थानमा छ। अफगानिस्तान दोस्रो स्थानमा छ। न्युजिल्यान्ड तेस्रो स्थानमा छ । नामिबिया चौथो स्थानमा रहदा भारत र स्कटल्यान्ड क्रमशस् पाँचौ र छैटौं स्थानमा छन्।

समूह-१ मा इंग्ल्यान्ड ३ खेलमा ३ जितका साथ ६ अंक जोड्दै शीर्ष स्थानमा छ।

 

 


प्रतिक्रिया दिनुहोस्