अफगानिस्तानको विवाहमा गीत बज्यो, गीत बन्द गर्न गोली चलाउँदा २ को मृत्यु, १० घाइते

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  ९ : ३८


अफगानिस्तानमा तालिबान सरकार पुनः सत्तामा आएसँगै अघोषित रुपमा त्यहाँ कडा शासन लागू भएको छ। महिलालाई विद्यालय जान दिइएको छैन भने त्यहाँ महिलाको अधिकार कुन्ठित भएका छन्।

यसबीचमा तालिबान सरकारले गीत तथा संगीत बजाउन प्रतिबन्ध लगाएको हल्लाहरु चलेका छन्।

यसैक्रममा हालै अफगानिस्तानमा एउटा विवाह समारोहमा गीत बजाइएको थियो। तर आफूलाई तालिबान लडाकु बताउने केही व्यक्तिले विवाहमा गीत बजेको भन्दै बन्दुक चलाए।

सो आक्रमणमा २ को मृत्यु भएको छ भने १० जना घाइते भएको बीबीसीले जनाएको छ।

तालिबानका प्रवक्ताले गोली चलाउने तीन जना गिरफ्तार भएको जनाएको छ। यद्यपी उनले तालिबानको नियमअनुसार बन्दुक चलाएको विषयको बारेमा केही जानकारी दिएका छैनन्।

सन् १९९६ देखि २००१ सम्म जब तालिबान सत्तामा थिए त्यसबेला अफगानिस्तानमा गीत–संगीतमा प्रतिबन्ध लागेको थियो। हालको तालिबानले गीत प्रतिबन्ध गरेको विषयमा कुनै जानकारी दिएको छैन।

यद्यपी आफूलाई तालिबान बताउने व्यक्तिहरुले गीत बजाएको भन्दै विवाह समारोहमा गोली चलाएपछि त्यहाँ तालिबानको शासनदेखि थप त्रास बढेको छ।

 


प्रतिक्रिया दिनुहोस्