कोरोना प्रभावितलाई राहत दिने सरकारको लक्ष्य, पुनः कर्जाका लागि आवेदन दिन आग्रह

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  ९ : २१


कोरोनाका कारण प्रभावित भएका उद्योग व्यवसायलाई राहत दिने लक्ष्यका साथ नेपाल राष्ट्र बैंकले आवेदन गर्न आह्वान गरेको छ।

कोरोनाका कारण प्रभावित, अतिप्रभावित क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर राहत दिने प्रयोजनका साथ केन्द्रीय बैंकले आवेदनका लागि आग्रह गरेको हो।

राष्ट्र बैंकले आज इजाजत लिएका क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई आवेदन दिन भनेको हो। नेपाल राष्ट्र बैंक पुनः कर्जा कार्यविधि, २०७७ को तेस्रो संशोधनअनुरुप एकमुष्टरुपमा लघु, घरेलु तथा साना उद्यम पुनःकर्जा, साधारण पुनःकर्जा तथा विशेष पुनःकर्जाका लागि आवेदन अनुरोध गरेको छ।

आगामी पुस १९ गतेसम्म सो कर्जाका लागि आवेदन दिने समयसीमा रहेको छ। कोरोनाबाट अति तथा मध्यम प्रभावित क्षेत्रलाई त्यस्तो कर्जा दिनुपर्नेछ।

पर्यटन क्षेत्र, होटल, मनोरञ्जन क्षेत्र, तयारी पोशाक, रोजगारी गुमेका अन्य क्षेत्र, यात्रुबाहक सवारी साधनलगायत विभिन्न १५ क्षेत्रलाई अतिप्रभावित क्षेत्रमा राखिएको छ।

यस्तै मध्यम प्रभावित क्षेत्रमा खप्ने सामान उत्पादन गर्ने उद्योग, अस्पताल, भण्डारण गर्न सकिने वस्तु तयार पार्ने उद्योग, निर्माणमा रहेका जलविद्युत् आयोजना मध्यम प्रभावित क्षेत्रमा रहेका छन्।

आवेदन पेश गर्ने बैंक तथा वित्तीय संस्थाले प्रत्येक शाखाबाट न्यूनतम पाँच गाहक ऋणी समेटिएको हुनुपर्छ। एकभन्दा बढी बैंक तथा वित्तीय संस्थामार्फत मात्र आवेदन गर्दा लघुउद्यम, घरेलु तथा साना उद्यम क्षेत्रका ऋणीलाई समेट्नुपर्नेछ।


प्रतिक्रिया दिनुहोस्