कालीगण्डकीमा डुबेर एक युवक बेपत्ता

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  ४ : १५


गुल्मी। कालीगण्डकी नदीमा डुबेर एक युवक बेपत्ता भएका छन्। आइतबार दिउँसो चन्द्रकोट गाउँपालिका ८ का १९ वर्षीय शंकर पौडेल कालीगण्डकीमा डुबेर बेपत्ता भएका हुन्।

उनी चन्द्रकोट गाउँपालिका(७ का ७६ वर्षीय थनेश्वर न्यौपानेको मृत्यु भएपछि दाहसंस्कारको लागि सत्यवती गाउँपालिका–१ रुद्रवेनीघाटमा गएका थिए।

उनीसहित केही युवक घाटमाथि नुहाउन पुगेका थिए। सोहीक्रममा पौडेल डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

इलाका प्रहरी कार्यालय रिडीका प्रहरी निरीक्षक सुबराज बम र इलाका प्रहरी कार्यालय जोहाङका प्रहरी निरिक्षक लक्ष्मण विक नेतृत्वको प्रहरी टोली र स्थानीयले बेपत्ता पौडेलको खोजिकार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख गोपालचन्द्र भट्टराईले बताए।

गहिरो दहमा डुबेको आशंकामा प्रहरी र स्थानीयले खोजी गरे पनि समस्या भइरहेको भट्टराईले बताए। मलामी गएको छोरा खोलामा बेपत्ता भएपछि परिवार शोकमा डुबेका छन्। स्थानीयले गोताखोर मगाएर भएपनि खोजी गर्न माग गरेका छन्।


प्रतिक्रिया दिनुहोस्