लक्ष्मीपूजामा बालिएको दियोबाट आगो सल्कँदा लाखौँको क्षति

प्रकाशित मिति : ११ कार्तिक २०७६, सोमबार  १० : २२


सोलखुम्बु । जिल्लाको नेचासल्यान गाउँपालिका–२ सल्यान कुमाल गाउँको एक घरमा आगलागी भएको छ ।

लक्ष्मीपूजाका लागि बालिएको दियोबाट आगो सल्किँदा स्थानीयवासी रुपा नेवारको रु छ लाख बराबरको क्षति भएको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले जानकारी दिनुभयो ।

आगलागीबाट लक्ष्मीपूजाका लागि राखिएको नगद रु एक लाख ५० हजार, पाँच तोला सुन, १० तोला चाँदी, पाँच माना सिक्का पैसासहित कोठाभित्र रहेको सम्पूर्ण सामग्रीहरु जलेर नष्ट भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार पूजाकोठाबाट शुरु भएको आगोले नेवारको ढुङ्गा माटोले बनेको तीन तले घरको पूजाकोठा जलेर नष्ट भएको छ ।

साँझ ७ः४५ बजेबाट शुरु भएको आगो राति ९ः३० बजे स्थानीयवासी र प्रहरीको सक्रियतामा नियन्त्रणमा आएको थियो ।

तत्काल थाहा भएर आगो नियन्त्रणमा लिन सफल भएकाले ठूलो क्षति हुनबाट जोगिएको स्थानीयवासीले बताएका छन् । रुपा नेवार नेचासल्यान गाउँपालिका–२ का वडा सदस्यसमेत हुनुहुन्छ । 

एक हप्तामा करोड बढी क्षति

पछिल्लो एक हप्तामा नै जिल्लाको तीन ठाउँमा आगलागी भएको छ । कात्तिक ३ गते मात्रै सोही गाउँपालिका–१ का चन्द्रप्रकाश कोइरालाको तीनतले घरमा आगलागी भएको थियो । प्रहरीको मूल्याङ्कनअनुसार कोइरालाको रु ९८ लाख बराबरको क्षति भएको थियो । 
 
यस्तै कात्तिक ७ गते सोलुदूधकुण्ड नगरपालिका–११ को गन्जेडाँडाका खड्गबहादुर खड्काको घरमा आगलागी भएको थियो । प्रहरीका अनुसार सल्यानमा खड्काको घर पूर्णरूपले जलेर नष्ट हुँदा रु ८५ लाख बराबरको क्षति भएको छ । 


प्रतिक्रिया दिनुहोस्