स्क्रिन जोडी दिलीप र निरुताको नजुरेको सहकार्य

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार  १२ : ३२


नेपाली फिल्मका दर्शकले रुचाएको जोडीमध्येको एक हो, दिलीप रायमाझी र निरुता सिंहको जोडी । दर्पणछायाँ, लहना, बन्धकीलगायतका फिल्ममा यो जोडीले गरेको कामलाई दर्शकले रुचाए । ठूलो पर्दामा रुचाइएको जोडी बनेका दिलीप र निरुताले फिल्म निर्माणमा समेत सहकार्य गर्ने तयारी गरेका थिए ।

‘हाम्रो जोडी पर्दामा दर्शकले रुचाइरहेका थिए, साथै हामी रियल लाइफमा पनि मिल्ने साथी थियौँ र छौँ’, निरुता भन्छिन्, ‘हामीले वर्कआउट पनि सँगै गर्थ्यौँ, मिल्ने साथी भएकाले धेरै कुराहरू एक आपसमा हुन्थ्यो ।’

त्यसै क्रममा फिल्म ‘बन्धकी’ को छायांकनको समयमा दिलीपले निरुतालाई फिल्म निर्माणको अफर गरेका थिए । ‘लेलेमा छायांकन भइरहेको समयमा मलाई उहाँले फिल्म निर्माण गर्न लागेको जानकारी गराउनुभयो । त्यहीँ कुराकानी फिल्ममा अभिनय गर्ने हुँदाहुँदै सट दिने बेलामा निर्माणमा पनि सहकार्य गर्नेसम्म पुग्यो’, निरुताले एक टेलिभिजन अन्तर्वार्ताको क्रममा भनिन् ।

दिलीपले अफर गरेकाले उनले पनि सहमति जानाइन् । फिल्म नगरीका व्यस्त दुई कलाकारले फिल्म निर्माण गर्ने भएपछि निर्देशक पनि खास चाहिन्थ्यो।

उक्त समयमा अभिनेता राजेश हमालले एक एड फिल्म निर्देशन गरेका थिए । त्यो देखेपछि यी दुईले अभिनेता हमाललाई निर्देशकको रूपमा अफर गरे । तुरुन्तै फोन गरेर फिल्म निर्देशनको प्रस्ताव गरेपछि अभिनेता हमालले भेट्न बोलाए । ‘राजेश दाइले मलाई निर्देशक बनाउने सोच कसरी आयो भनेर सोध्नुभयो । दिलीपजीले कन्भिन्स गरेपछि उहाँ तयार पनि हुनुभयो । ५र६ महिना लाग्ने समयसँगै राजेश दाइले आफ्नो दायित्व बुझेपछि मात्र सहमति जनाउनुभयो’, निरुताले भनिन् ।

राजेशसँग फिल्म गर्ने सहमति भएपछि दिलीप एकाएक पछि हटे । ‘यता लेखनको काम भइरहेको थियो । म पनि आफ्नो काममा थिएँ । सबै काम हटाएर दिलीपजी भारत लाग्नुभयो’, निरुताले गुनासो गरिन् । दिलीपकै कारण फिल्म निर्माणमा सहकार्य नभएको उनको गुनासो थियो । दिलीपले सुनिल दत्त पाण्डेसँग फिल्म निर्माण गर्ने भएपछि दिलीपलाई अभिनेत्रीको रूपमा अफर गरे र कलाकारकै रूपमा सहकार्य भयो ।

‘मैले चाहेर सहकार्य नगरेको होइन । तर, त्यो समयमा खै के भयो रु त्यो प्रोजेक्टको कामलाई अगाडि बढाउनु सकिन’, दीलिपले भने । तत्कालीन समयमा सहकार्य नभएपछि पछिल्लो समय पुनः तयारी बढेको छ ।

नेपाली फिल्ममा क्लासिक मानिने फिल्म ‘दर्पणछायाँ’लाई नयाँ स्वरूपमा तयार गर्ने दिलीप र निरुतासँग उत्तम प्रधान पनि अगाडि बढेका छन् । यी तीनैलाई स्थापित गराउने फिल्मको रूपमा चिनिने दर्पणछायाँलाई ‘फेरि दर्पणछायाँ’ नाम दिइएर दर्शकमाझ ल्याउने तयारी केही समय अगाडिदेखि नै छ ।

निर्देशक तुलसी घिमिरेको सहमति पाएपछि निरुताले पटकथा तयार पारेकी छिन् भने निर्देशकको जिम्मेवारी उत्तमले लिएका छन् । स्क्रिप्ट तुलसी घिमिरेलाई पनि मनपरेको उनको भनाइ थियो । यसपटक पनि सल्लाहले सहकार्यको स्वरूप लिन सकेको छैन ।

आजभन्दा २० वर्षअघि प्रदर्शन भएको ‘दर्पणछायाँ’ले ऐतिहासिक सफलता पाएको थियो । यो फिल्मसँगै निरुता सिंह, दिलीप रायमाझी र उत्तम प्रधानको स्टारडम चुलीमा पुगेको थियो । यसको १७ वर्षपछि तुलसी घिमिरेले नयाँ कलाकारलाई लिएर यसको शृंखला बनाएका थिए । पुष्प खड्का, सहारा शर्मा र श्रद्धा प्रसाईंको अभिनय रहेको यो फिल्म पहिलाको फिल्मको एकछेऊ पनि नभएको टिप्पणी भएको थियो ।


प्रतिक्रिया दिनुहोस्