सेनाको हेलिकोप्टरबाट ३ दिने भ्रमण गर्दै राष्ट्रपति, मुक्तिनाथदेखि ढोरपाटनसम्मको यात्रा

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार  ११ : २७


पोखरा। राष्ट्रपति विद्यादेवी भण्डारी देशका धार्मिक तथा पर्यटकीय क्षेत्रको स्थलगत अवलोकन र जानकारी लिनका लागि आजदेखि तीन दिनसम्म काठमाडौं बाहिर विभिन्न क्षेत्रको भ्रमणमा निस्किएकी छन्

उनले लुम्बिनी, मुक्तिनाथ, ढोरपाटन, मनाङ जस्ता धार्मिक तथा पर्यटकीय क्षेत्रको भ्रमण अवलोकन गर्नेछिन्। राष्ट्रपति भण्डारी आज हिन्दुहरुका प्रसिद्ध चार धाममध्येको एक मुक्तिनाथतर्फ लागेकी हुन।

मुक्तिनाथका साथै आजै राष्ट्रपति ढोरपाटन शिकार आरक्षमा पुग्ने कार्यक्रम छ। त्यहाँ आरक्षका वार्डेनले शिकार आरक्ष र पर्यटनको अवस्थाका बारेमा ब्रिफिङ गर्नेछन् भने ढोरपाटन नगरपालिकाका मेयरले स्वागत गर्नेछन्।

राष्ट्रपति भण्डारी आजै काठमाडौं फर्किने र भोलि लुम्बिनीमा जाने कार्यक्रम छ।

राष्ट्रपति भण्डारी मंगलबार हिमालपारीको जिल्ला मनाङ जानेछिन्। पर्यटकीय अवस्थाको बारेमा बुझ्नुको साथै नेकपा एमालेका सांसद पोल्देन छोपाङ गुरुङको नमूना स्याउ उद्योगको अवलोकन गर्ने कार्यक्रम समेत रहेको छ।

राष्ट्रपतिको यसपटकको अनौपचारिक भ्रमणको उद्देश्य कोभिड संकटका कारण थला परेको पर्यटन व्यवसायलाई माथि उठाउन प्रचार गर्ने तथा राष्ट्रिय उद्यमशीलतालाई प्रबद्र्धन गर्ने उद्देश्यले हुन लागेको अर्थमा बुझ्न सकिने राष्ट्रपतिको कार्यालयले जनाएको छ।

राष्ट्रपतिको भ्रमणको सबै प्रबन्ध नेपाली सेनाले गरेको छ। सेनाको हेलिकोप्टरबाटै ती ठाउँमा जाने बताइएको छ।

-फाइल फोटो


प्रतिक्रिया दिनुहोस्