भेडा पालेर वार्षिक पाँच लाख बढी आम्दानी

प्रकाशित मिति : असार ९, २०७८ बुधबार


काठमाडौँ । बागलुङको काँठेखोला गाउँपालिका–३ धम्जाका बुद्धिबहादुर विक र बुद्धराम मगरको पुख्र्यौली पेशा भेडापालन हो ।

बाजेको पालादेखि शुरु गरेको भेडापालनले नातिको पुस्तासम्म आइपुग्दा व्यावसायिक रुप लिइसकेको छ । बागलुङको धम्जामा भेडिगोठ राखेर म्याग्दीको स्वर्गाश्रम क्षेत्रको जङ्गलमा भेडा चराउनु विक र मगरको दैनिकी बनेको छ ।

चवालीस वर्षीय बुद्धिबहादुर विकले आफू जान्ने भएदेखि नै म्याग्दीको बेलढुङ्गा र स्वर्गाश्रम क्षेत्रको जङ्गलमा भेडा चराउँदै आएको बताउनुभयो । विकले आफ्ना ५२ वटा भेडालाई बिहानको खाना खाएपछि दैनिकरुपमा यस क्षेत्रमा चराउन ल्याउने गरेको पनि ठ्याक्कै ३२ वर्ष भयो । बाह्र वर्षको उमेरदेखि भेडा चराउने पेशा अपनाएका विक आफ्नो जागिर र व्यवसाय दुवै भेडापालन नै भएको बताउनुहुन्छ । त्यस्तै विकसँगै भेडा चराउन म्याग्दीको जङ्गलमा आउनुभएका वाग्लुङका बुद्धराम  मगरले पनि आफ्नो बाल्यकाल र युवा अवस्था भेडासँगै जङ्गलमा नै बिताउनुभएको छ । ‘बालापन र वैंश दुवै यसैमा बित्यो हजुर, अब त यसैमा आनन्द छ, आफ्ना ४२ वटा भेडालाई खेद्दै ओरालो झर्दै गर्नुभएका मगरले भन्नुभयो ‘जापान पनि यही हजुर कोरिया नि यही ।‘

ठट्यौलो स्वभावका विक र मगरका भेडाहरु पनि हेर्दै लोभलाग्दा छन् । अधिकांश सेता र केही काला भेडाहरुको बथान लिएर ओरालो झर्दै गरेका यी भेडापालक कृषकहरुको आम्दानी पनि सामान्यरुपमा अनुमान गरिनेभन्दा फरक छ । विक भन्नुहुन्छ ‘एउटा भेडाको मूल्य रु पाँच हजारदेखि रु ५० हजारसम्म पर्छ । वर्षमा ५÷७ लाख रुपैयाँ कमाइ हुन्छ ।‘ मगरले पनि भेडा बिक्री गरेर वर्षमा रु पाँच लाखभन्दा बढी कमाउने गरेको बताउनुभयो । मासिक सरदर रु ५० हजार कमाइ भएपछि विक र मगरलाई गाउँको भेडिगोठ र जङ्गलको चरनमा नै रस बसेको छ । मगर भन्नुहुन्छ ‘अमेरिका अष्टे«लिया जाउँला भन्ने कहिल्यै लाएन, जाबो अरब कतारको कमाइ यहीँ हुन्छ, हामी त यतै मस्तै यतै व्यस्तै ।

सुन्ने मान्छेलाई पनि कुरैले चोत्क्याउने खुबी भएका यी दुई भेडापालक कृषकको समस्या भनेको भेडालाई चरनको अभाव नै हो । आफ्नो नजिकको जङ्गल सामुदायिक वन बनेपछि भेडापालन गर्न समस्या भएको उनीहरुको भनाइ छ । ‘नजिकमा चराउने ठाउँ छैन, त्यसैले यति टाढा चराउन ल्याएका हौँ, मगरले भने “सरकारले गाउँगाउँमा केजाती हो (रोजगारी) दिन्छु भन्थ्यो, हामीलाई त वन खुला गर्दिए हुन्थ्यो ।” विक र मगरजस्तै धम्जामा नौ जना कृषकले व्यावसायिक भेडापालन गरेका छन् । उनीहरु सबैको एउटै समस्या छ, त्यो हो चरनको अभाव ।

प्रवासीको तीन करोड बढीको सहयोगमा विद्यालय भवन

म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीबाट वैदेशिक रोजगारका लागि विश्वका विभिन्न मुलुकमा पुगेका व्यक्तिहरुको रु तीन करोडभन्दा बढी आर्थिक सहयोगमा भकिम्लीमा पक्की २० कोठे विद्यालय भवन निर्माण गरिएको छ ।

स्थानीयको सक्रियता र प्रवासीहरुको पहलमा जयन्ती माविको २० कोठे पक्की भवन निर्माण भएको हो । रु तीन करोड ४५ लाखको लागतमा निर्माण भएको सो विद्यालय भवनका लागि वैदेशिक रोजगारीमा गएका भकिम्लीवासीले रु ३ करोड भन्दा बढी आर्थिक सहयोग गरेका विद्यालयका प्रधानाध्यापक रामबहादुर पुनले बताउनुभयो ।

पहिलेदेखि नै अत्यन्त जीर्ण अवस्थामा रहेको साविकको भकिम्ली गाविसको जयन्ती माविको भवन २०७२ सालको महाभूकम्पका कारण कामै नलाग्ने अवस्थामा पुगेपछि विदेशमा रहेका भकिम्लीवासीहरु विद्यालय भवन निर्माणका लागि सहयोग अभियानमा जुटेका थिए । साविकको जिल्ला शिक्षा कार्यालयले भवन निर्माणका लागि रु ५० लाख रुपैयाँ सहयोग उपलव्ध गराउनु बाहेक अन्य कतैबाट सहयोग प्राप्त हुने नदेखेपछि विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनले बैदेशिक रोजगारीमा गएका भकिम्लीवासीलाई गुहारेको थियो ।

“विद्यालय भवन निर्माणका लागि प्रवासमा रहेका भकिम्लेलीहरुबाट मनग्गे सहयोग भएको छ ।” विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् बेनपा–३ का वडाअध्यक्ष पद्म पुनले भन्नुभयो–‘दिनरात पसिना बगाएर विदेशमा श्रम गर्ने व्यक्तिहरुबाट प्राप्त सहयोगले गाउँका बालबालिकाहरुले सुविधा सम्पन्न भवन भित्र बसेर अध्ययन गर्न पाउने भएका छन्, प्रवासी भकिम्लेलीहरुप्रति हामी भकिम्लीवासीहरु आभारी छौँ ।”

प्रवासी भकिम्लेलीहरुको सहयोगमा अहिले २० कोठे भूकम्प प्रतिरोधि भवन निमार्ण सम्पन्न भैसकेको छ । विद्यालयले अत्याधुनिक प्रविधिको मेशिन खरीद गरी गाउँमा नै भवन निर्माणका लागि इट्टा बनाएर भवन निर्माण गरेको हो । 


प्रतिक्रिया दिनुहोस्