बन्दीपुरका किसानलाई आलु बीउ वितरण

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार  ८ : ३७


बन्दीपुर गाउँपालिकाकाले किसानलाई ५० प्रतिशत अनुदानमा उन्नत आलुको बीउ वितरण गरेको छ। विभिन्न कृषक समूह, सहकारी, सामूहिक खेती र व्यक्तिलाई समेत गरी नौ हजार ३०० किलोग्राम आलुको बीउ वितरण गरिएको हो।

गाउँपालिकाले एमएस ४२ निलो र गजुरी रातो उन्नत जातका आलुको बीउ वितरण गरिएको जनाएको छ।

विभिन्न व्यावसायिक संस्थामा आबद्ध कृषकलाई पाँच हजार ३०० र समूह र सहकारीमा आबद्ध भएका किसानलाई चार हजार किलोग्राम आलुको बीउ वितरण गरिएको हो।

प्रतिकिलो रु ५४ पर्ने आलुको बीउमा गाउँपालिकाको ५० प्रतिशत र किसानको ५० प्रतिशत लगानीमा आलुको बीउ वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुबेदीले जानकारी दिनुभयो।

गाउँपालिकाभित्रका किसानका लागि आवश्यक पर्ने आलुको बीउको लागि सूचना प्रकाशित गरी किसानको मागअनुरुप बीउ मगाएर वितरण गरिएको गाउँपालिका कार्यालयले जनाएको छ।

गाउँपालिकाका किसानलाई तरकारी खेतीतर्फ आकर्षित गरी आत्मनिर्भर बनाउनुको साथै उनीहरुको आयआर्जनमा सबल बनाउन गाउँपालिकाले सक्रिय भूमिका खेल्दै आएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताउनुभयो।

किसानलाई अनुदान, उन्नत बीउ, कृषि यन्त्रकोक्षेत्रमा समेत सहयोग गर्दै आएको उहाँले बताउनुभयो । किसानका लागि अनुदानका कार्यक्रम ल्याएपछि थप उत्साहित भएर कृषि पेसामा लाग्न थालेको उहाँले बताउनुभयो।

गाउँपालिकाभित्रका किसानलाई बाख्रा, कुखुरा, फलफूल तरकारी, दुग्ध उत्पादनलगायतका क्षेत्रमा अनुदान प्रदान गरेर उत्प्रेरणा जगाउने कार्यको समेत गाउँपालिका कार्यालयले सुरुआत गरिसकेको छ। रासस


प्रतिक्रिया दिनुहोस्