डा. विदुरकाे कविता-छेउमा दर्शन

प्रकाशित मिति : ११ कार्तिक २०७६, सोमबार  ७ : ०९


कविता-छेउमा दर्शन

 

तिमी उठ या नउठ
बस, भन तिम्रो निद्राको कहानी
म ब्युँझाइरहेछु तिमीलाई त्यसै त्यसै
गीतका लयमा पाइलाहरू पछ्याउँदै
औंसीको उज्यालोमा कन्तुरका छेउछाउ

तिमीलाई मेरो गरिबी देखिरहँदा
रून मन लाग्दो हो, छाँद हालेर यसै
छ नि ! तिम्रो स्वभावमा लर्बराएका
काँचा स्वागतका गुच्छाहरू सजाउँदै
वेदनाले तड्पिएर छाप्रो छपेरी वरिपरि ।

जब बतासका मन्द लयमा तिम्रा गोडाहरू
छचल्कँदै गतिउपर तैरिँदैतैरिँदै वर्लिरहन्थ्यो 
मेरा चेतनाका समाधिहरू कुर्लँदै उठिदिन्थे
गङ्गाको बहावका तुफानी रातहरूसँग लहरिदै ।

तिमी मस्त नाचिरहन्थ्यौ मनका भाकाहरूमा !
तिमी कम्मर भाँचिरहन्थ्यौ तनका चालहरूमा !!

जब आँखाहरूमा उज्यालो प्रकाशले, प्रदीप्त
तिम्रो ज्योतिहरूले ऐठनहरू खुल्दथे हरपल
दिनहरू खुल्थे यतैउता आँगनका धुलोसँग ।

औंसीको निष्पट्ट रातको ओझेलमा
छाँयाहरू हराइरहन्थे सुटुक्क सुटुक्क
आकासका छलछलमा तिम्रा तलतलहरू

तिम्रा मनका मेरा मुटुहरू
मेरा मनका पनि तिम्रा मुटुहरू
बग्दैबग्दै, ढल्पलिंदै तर्किदिन्थे कति
परम्पराको साङ्ग्लोले भैलीनीहरूसँग
संस्कृतिको डोरीले देउसेहरूसँग पनि ।

जेहोस, आयौ निकै बेर रमायौ मेरो जीवनसँग
झिलिमिल झिलिमिलि डान्सबारका नर्तक छेउ
फेरि आउ, फेरि जाउ, फेरि जाउ, फेरि आउ
हरनजरियाका गुलाफका सुगन्धहरूले भरिएर ।

निरन्तर निरन्तर चलिरहने तिम्रो पर्वमा
मेरो विरूप जात्राको गुठियारी मातसँग
भाकिरहेँथे, परम्पराको सार सत्यका बीच
यो वर्षका तिम्रा स्वागतका विदाइ दिनहरू !

छेउमा दर्शन थियो, त्यसै हराएँ मनबाट आफै 
तिहारका जादुले चन्द्रमाको उज्यालोसँग ।

तिमी पनि उस्तै म पनि त उस्तै,
कहिल्यै नथाक्ने छेउको दर्शनले !
                 -डा. विदुर चालिसे


प्रतिक्रिया दिनुहोस्