अफगानिस्तानमा ५ सय डलरमा बच्चा बेचेर घरको समस्या टार्‍यो यो परिवारले…

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ५ : २९


अफगानिस्तानमा एक परिवारले आफ्नी छोरी ५ सय अमेरिकी डलरमा बेचेर घरको समस्या टारेको छ।

आफ्ना अन्य छोराछोरीको भोक टार्न र एक छोराको विवाह गर्न सो परिवारले सानी छोरी बेचेको डेलीमेलले जनाएको छ।

तालिबानले देश कब्जा गरेयता अफगानिस्तानको अर्थतन्त्र धर्मराएको छ। त्यहाँका सयौं व्यापारीको सम्पत्ति लुटिएका छन्। समग्रमा अर्थतन्त्र चलाएमान छैन जसका कारण त्यहाँका नागरिक भोकमरीको संघारमा पुगेका छन्।

बीबीसीका पत्रकार योगिता लामियाले काबुल बाहिरको शहर हेरातमा हालै भ्रमण गरेकी थिइन्। सो क्रममा उनले घरको समस्या टार्न एक परिवारले ५ सय अमेरिकी डलरमा नाबालिका छोरी बेचेको सूचना पाएकी हुन्।

छोरी किन्नेको नाम खुलाइएको छैन। तर उनले हालसम्म २५० अमेरिकी डलर तिरेका छन्। ठूलो भएपछि नाबालिकालाई आफ्नो छोरासँग विवाह गरिदिने ती व्यक्तिले बताएको सो परिवारले जनाएको छ।

बाँकी पैसा भने नाबालिका छोरी हिँड्न थालेपछि उक्त परिवारले पाउने सर्त रहेको छ।

छोरी बेच्ने परिवारकी आमाले बीबीसीसँग भनेका छन्,‘मेरा अन्य छोराछोरी भोकले मर्न लागेपछि छोरी बेचेकी हुँ। म दुःखी छैन कसरी भनु। उनी मेरो सन्तान हो। छोरी बेच्नु बाध्यता हो, रहर होइन।’

पछिल्लो समय देश चलाउन समस्या भएपछि तालिबान सरकारले विश्व सामु आर्थिक सहयोग गर्न आह्वान गर्न थालेको छ।


प्रतिक्रिया दिनुहोस्